परिचय
विभिन्न सिलसिलामा नेपालबाट आएर अस्थायी वा स्थायी रुपमा बेलायतमा बसोबास गर्ने नेपाली नागरिकहरूको सङ्ख्या दिनानुदिन बढ्दो क्रममा छ । खासगरी बेलायत सरकारले भूपू ब्रिटिस गोर्खा सैनिकहरूलाई आवासीय भिसा प्रदान गरेपछि त झन् बेलायतमा नेपाली नागरिकको जनघनत्वमा बृद्धि हुन गएको छ । यसका साथै ब्रिटिस सेनामा बहालवाला ब्रिटिस गोर्खा सैनिक र तिनका परिवार पनि साथै रहने व्यवस्था गरिएपछि त स्वाभाविक रुपमा जनघनत्वमा बढेको हो ।

यसरी जनघनत्व बढ्दै जाँदा र बेलायतमा बसोबास गरिरहेका नेपाली नागरिकका सन्तानहरूले बिस्तारैबिस्तारै आफ्नो मातृदेशको भाषा, संस्कृति र परम्परालाई भुल्दै जान थाले, बदलामा बेलायतको भाषा, संस्कृति र परम्परालाई आत्मसात गर्दै जान थाले । यसो हुँदै जाँदा नेपाली भाषा, संस्कृति र परम्परामाथि खतरा उत्पन्न हुने अवस्था बढ्दै जान थाल्यो । यो वास्तवमै बेलायतमा रहेका सचेत नागरिकका लागि ठूलो चिन्ताको विषय हुन गयो । अब कसरी यस्तो खतराबाट नेपाली भाषा, संस्कृति र परम्परालाई जोगाइराख्ने ? के गर्यो भने हामीले यो परदेशमा आफ्नो मातृदेशको भाषा, साहित्य, कला, संस्कृति र परम्पराको जगेर्ना गर्न सक्छौँ ? यसै कुरालाई गम्भीरतापूर्वक मनन् गर्दै जाँदा जन्म भयो नेपाली प्रतिभा प्रतिष्ठान, बेलायत।

बेलायतमा नेपालीहरूको जनघनत्व दिनानुदिन बृद्वि भइरेहेको परिप्रेक्ष्यमा एकेडेमीको परिकल्पना गरी सन् २००८ सालमा प्रवासी नेपाली साहित्य समाज (प्रभात) र नेपाली कला, साहित्य तथा सङ्गीत मञ्चको सङ्युक्त बैठक बसी सर्वसम्मत रुपमा दुवै संस्थालाई गाभेर नेपाली प्रतिभा प्रतिष्ठान, बेलायत नामक संस्थाको जन्म भएको हो । नेपाली भाषा, साहित्य, कला एवं संस्कृतिको संरक्षण, संवद्र्धन साथै सवाङ्गीर्ण विकास गर्ने उद्देश्यले सन् २००८ मा बेलायतमा सम्पन्न साहित्यकार तथा कलाकारहरूको उक्त भेलाले सर्वसम्मत रुपमा श्री रक्ष राईको अध्यक्षतामा नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको गठन गर्यो ।

संस्थाका उदेश्यहरु:

  • बेलायतमा वसोबास गरिरहेको नेपाली समुदायको दोस्रो पुस्ताले विस्तारै नेपाली भाषा, संस्कार तथा संस्कृति भुलिरहेको अवस्थामा बेलायतमा नेपाली भाषाको पठनपाठनका लागि पहल गर्ने।
  • बेलायत नेपाली डायास्पोरा सम्बन्धि अध्ययन, अनुसन्धान गर्ने ।
  • बेलायतमा नेपाली भाषा, साहित्य, संस्कार तथा संस्कृति सम्बन्धि पत्रपत्रिका, कृति प्रकाशन र अनलाइन सञ्चालन गर्ने,
    श्रव्यदृश्य सामाग्रीको उत्पादन गर्ने, सम्बन्धित विषयको बृत्तचित्र निर्माण गर्ने ।
  • नेपाली जनघनत्व रहेका ठाउँहरूमा गोष्ठी, सेमिनार तथा जनचेतनामूलक अन्तक्र्रियात्मक कार्यक्रमहरूको आयोजना गर्ने ।
  • भाषा रहेमात्र आफ्नो पहिचान रहने भएकोले प्रतिष्ठानले भाषा संरक्षणको अभियान दीर्घकालीन रुपमा सञ्चालन गर्ने ।
  • नेपाली भाषा, साहित्य, सङ्गीत र कला क्षेत्रमा उल्लेख्य योगदान पुर्याउँदै आइरहेका स्रष्टाहरूलाई प्रतिभा सम्मान तथा प्रतिभा पुरस्कारद्वारा प्रत्येक सम्मानित गर्ने ।
  • बेलायत तथा अन्य देशमा रहेका स्रष्टाका कृति प्रकाशन गर्ने तथा प्रकाशन सहकार्य गर्ने ।
  • स्रष्टाहरूलाई प्रोत्साहित हेतु वार्षिक रूपमा एकजना स्रष्टालाई एकल प्रस्तुतिको अभिब्यक्ति शृंखलामा मञ्च प्रदान गर्ने ।

outlook india