जी.वी. लुगुन (गणेशबहादुर राई)

गाउँघरमा हलोकोदालो गर्दा गर्दै १७ बर्षको किशोर उमेरमा नै विसं २००१ मा ब्रिटिश सैन्यसेवामा भर्ती हुन पुग्नुभएका जीवी लुगुनको जन्म विसं १९८४ माघ १६ गते भोजपुरमा बाबा हरवीर तथा अमा हीराश्वरी राईको कोखमा भएको हो । जीवनमा कहिल्यै पनि पाठशालाको मुख नदेखेका लुगुनले स्वअध्ययनबाटै जीवनमा पर्याप्त ज्ञान आर्जन गर्नुभयो । बिसं २००९ मा सैन्य जागिरबाट राजिनामा गरी नेपाल फिर्नुभएका जीवी लुगुनको साहित्यप्रतिको अभिरुचि सानैदेखि नै थियो ।

सैन्य जीवनबाट राजिनामा गरी स्वदेश फिरेपछि उहाँ निरन्तररुपमा साहित्य सिर्जनाका साथै संस्कृतिको खोजअन्वेषणमा लागिरहनुभयो । राई जातिको संस्कृति विज्ञका रुपमा समेत परिचित लुगुनका ‘म मेरै कवितामा रोएको छु’ (२०३६), साहित्य सौरभ (कवितासङ्ग्रह २०४२०), समेत गरी संस्कृति र समीक्षाका करिब दर्जन कृति प्रकाशित छन् । उहाँ थुप्रै सङ्घसंस्थामा आवद्ध हुनुहुन्छ । अनेकौ सङ्घसंस्थाद्वारा पुरस्कृत तथा सम्मानित भइसकनुभएको छ ।

अच्छा राई रसिक साहित्य प्रतिष्ठानका अध्यक्ष लुगुन साहित्य र संस्कृतिको उन्नयनका खातिर उल्लेखनीय योगदान दिएबापत भोजपुर प्रतिभा प्रतिष्ठान बेलायत लगायत अनेकौ सङ्घसंस्था बाट पुरस्कार तथा सम्मानद्वारा बिभूषित भइसक्नुभएको छ । उहाँको उच्च मूल्याङ्कन गर्दै नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०१० मा ‘प्रतिभा सम्मान’ द्वारा अभिनन्दन गरेको थियो ।

2 comments for “जी.वी. लुगुन (गणेशबहादुर राई)

Leave a Reply

Your email address will not be published. Required fields are marked *