काठमाडौं । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले यस वर्षका लागि पुरस्कार तथा सम्मान समर्पण गरेको छ । प्रमुख अतिथि वरिष्ठ कवि बैरागी काइँलाले प्रतिभा सम्मान सिक्किमका साहित्यकार प्रधुम्न श्रेष्ठलाई र प्रतिभा पुरस्कार संगीतकार बीबी अनुरागीलाई समर्पण गरे । लामो समयदेखि नेपाली भाषा साहित्यका क्षेत्रमा उल्लेखनीय योगदान सेवा दिएबापत श्रेष्ठलाई प्रतिभा सम्मान तथा संगीत क्षेत्रमा महत्त्वपूर्ण योगदान पु¥याउँदै आएबापत अनुरागीलाई पुरस्कार दिइएको हो । सम्मानमा ताम्रपत्र र २० हजार १ रुपियाँको सम्मान थैलीे र पुरस्कारमा ताम्रपत्रको साथमा १ लाख १ रुपियाँ नगद रहेको छ । पुरस्कार तथा सम्मान जनवरीको पहिलो साता काठमाडौंमा एक समारोहको आयोजना गरी समर्पण गरिएको हो । कार्यक्रम संस्थाका अध्यक्ष दयाकृष्ण राईको अध्यक्षतामा सम्पन्न भएको थियो ।
सन् १९५४ सालमा सिक्किम राज्यको देन्ताम बजारमा जन्मिएका साहित्यकार प्रधुम्न श्रेष्ठ विगत पाँच दशकदेखि नेपाली साहित्य लेखनमा क्रियाशील छन् । उनका कविता, गीत, निबन्ध र संस्मरणजस्ता दर्जनभन्दा बढी कृतिहरू प्रकाशित छन् भने उनले विभिन्न हिन्दीलगायतका भाषाका पुस्तकहरू नेपालीमा अनुवाद गरेका छन् । सिद्वि, हिमाली प्रकाशन, कनका र भानु स्मारिकाजस्ता विभिन्न पत्रपत्रिकाहरू प्रकाशनमा संलग्न श्रेष्ठ सिक्किमका पुराना साहित्यकार हुन् । नेपाली साहित्य परिषद् सिक्किमका पूर्वअध्यक्ष श्रेष्ठ साहित्य अकादमीका सदस्यसमेत छन् भने सिक्किमलगायत भारतका थुप्रै साहित्यिक र सामाजिक संघसंस्थाहरूसँग आबद्व छन् । उनी भारत र नेपालका धेरै संघसस्थाहरूबाट सम्मानित तथा पुरस्कृत भइसकेका छन् ।
संगीतकार बीबी अनुरागी पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा लोकप्रिय र सफल व्यावसायिक संगीतकारको रूपमा परिचित छन् । २० वर्षदेखि नेपाली संगीतमा सक्रिय भएर लागेका अनुरागीले झन्डै ७ हजार आधुनिक र केही लोकगीतहरूमा संगीत भरेका छन् । उनको एकल संगीतबद्व १५ गीति एल्बम बजारमा आइसकेका छन् भने दर्जनांै चलचित्रहरूमा उनको एकल संगीत रहेको छ । ०५१ सालमा रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गरेका अनुरागीले २५ गीतहरूमा स्वर र २० वटा लोकगीतहरू समेत संकलन गरेका छन् । उनी इमेज अवार्ड तथा नेफ्टा फिल्म अवार्ड तथा विभिन्न एफएम, टिभी र संघसंस्थाहरूबाट पुरस्कृत हुँदै आएका छन् । अनुरागी हाल प्रिज्म डिजिटल रेकर्डिङ स्टुडियोमार्फत नेपाली गीत–संगीतको श्रीवृद्विमा लागिपरेका छन् ।
सन् २००८ देखि प्रदान गर्न थालिएको प्रतिभा सम्मान हालसम्ममा बेलायतका साहित्यकार स्वर्गीय ईश्वर मानन्धर, साहित्यकार जीबी लुगुन, गायक भक्तराज आचार्य, समालोचक प्रा.डा. गोविन्दराज भट्टराई, गजलकार बूँद राना र कलाकार टेकबीर मुखियाले पाइसकेका छन् भने प्रतिभा पुरस्कार साहित्यकार नवीन विभास, गायक कुबेर राई, कवि तथा लेखक उपेन्द्र सुब्बा, कवि श्रवण मुकारुङ, सात्यिकार मोमिला जोशी, पत्रकार राजकुमार दिक्पाल र कवि भूपाल राईले पाइसकेका छन् ।

