भदौ ११, २०७४ मेडिस्टोन, बेलायत । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले आफ्नो स्थापनाको दशौँ वार्षिकोत्सव हाईवेकममा एक कार्यक्रमको आयोजना गरी भव्य रूपमा मनाएको छ । बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा राजदूत डा. सुवेदीले बेलायतमा नेपालीहरूको भाषा र साहित्यप्रतिको चासो र प्रतिष्ठानले खेलेको भूमिका प्रशंसनीय रहेको बताए ।
युनिभर्सिटी अफ लन्डनका प्राध्यापक डा. माइकल हटले पनि नेपाली प्रतिभा प्रतिष्ठानको कार्यक्रमको सराहना गरे । उनले भने, ‘मलाई नेपाल पुगेको अनुभुति भइरहेको छ ।’
कार्यक्रमलाई सम्बोधन गर्दै अर्का विशिष्ट अतिथि कवि तथा प्राज्ञ शशी लुमुम्बूले प्रतिभा प्रतिष्ठानले नेपाली साहित्य र संगीतमा गरेको योगदानको विशेष महत्व रहेको बताए । नेपालमा वर्सेनि पुरस्कार र सम्मान वितरण गर्दै प्रतिष्ठानले स्वदेशी तथा विदेशी स्रष्टाहरूको उचित मूल्याङ्कन गरेको उनको भनाइ थियो ।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष दयाकृष्ण राईले संस्थाको उद्देश्य, यसले गरेका कार्यहरूका बारेमा प्रस्ट्याएका थिए । उपाध्यक्ष गणेश राईले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने महासचिव मिजास तेम्बे, कोषाध्यक्ष देवेन्द्र खेरेस र सदस्य अन्जु अन्जलीले रोचक ढङ्गले कार्यक्रम सञ्चालन गरेका थिए ।
उक्त अवसरमा संस्थाको स्मारिका ‘एक दशक’ विमोचन गरिनुका साथै वार्षिक नियमित कार्यक्रम ‘अभिव्यक्ति शृङ्खला’ आयोजना गरिएको थियो ।
‘अभिव्यक्ति शृङ्खला’को दशौँ संस्करणमा कवि डा. रूपक श्रेष्ठ प्रस्तुत भएका थिए । यसरी नै कार्यक्रममा युवा चित्रकलाकार पियुस गुरुङको एकल चित्रकला प्रदर्शनीसमेत गरिएको थियो । सो अवसरमा कवि तथा प्राज्ञ शशी लुमुम्बूलाई संस्थाको मानार्थ सदस्यताको प्रमाणपत्रद्वारा सम्मानित गरिएको थियो ।
कार्यक्रममा नेपालबाट आएका कवि वासुदेव अधिकारीका साथै बेलायतमा रहेका कविहरू जानू काम्बाङ लिङ्देन, सुमलकुमार गुरुङ, भावना परिष्कृत सुनुवारलगायतले कविता सुनाएका थिए ।
सन् २००८ मा बेलायतमा स्थापित नेपाली प्रतिभा प्रतिष्ठानले स्थापनाको दशौँ वर्ष पूरा गरेको छ । उक्त संस्थाले वर्सेनि नेपालका एक जना युवा प्रतिभालाई एक लाख रुपैयाँको प्रतिभा पुरस्कार र एक जना अग्रज स्रष्टालाई प्रतिभा सम्मान प्रदान गर्ने गरेको छ ।

