नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको ‘एक दशक’

बेलायत, १७ असोज । नेपाली भाषा, साहित्य, कला तथा संस्कृतिको विकास गर्ने उद्देश्यले  बेलायतमा स्थापित एक प्रतिष्ठित संस्था हो, नेपाली प्रतिभा प्रतिष्ठान, बेलायत । सन् २००८ मा बेलायतमा स्थापित यस संस्थाले स्थापनाको दशौँ वर्ष पूरा गरेको छ । यसै अवसरमा हालै बेलायतमा यस संस्थाले एक कार्यक्रमको आयोजना गरी आफ्नो दशौँ वार्षिक उत्सव भव्यताका साथ मनाएको छ । यसै सन्दर्भमा संस्थाले आफ्ना दश वर्षका गतिविधिलाई समेटेर ‘एक दशक’ नामक स्मारिका प्रकाशन गरेको छ ।
गणेश राई ‘एक दशक’को प्रधान सम्पादक रहेका छन् भने महासचिव मिजास तेम्बे सम्पादक र कोषाध्यक्ष देवेन्द्र खेरेस तथा सचिव नरेश नाति सहसम्पादक रहेका छन् । संस्थाका मानार्थ सदस्य एवम् नेपाल संयोजक शशी लुमुम्बू अतिथि सम्पादक रहेको ‘एक दशक’मा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती र बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुबेदी क्षेत्रीको सारगर्वित शुभकामना सन्देश रहेको छ ।
संस्थाको संक्षिप्त परिचय, संस्थाले गरेका महत्वपूर्ण कार्यहरूको फेहरिस्ता, वर्षेनी प्रदान गरिने प्रतिभा सम्मान तथा पुरस्कार प्राप्त स्रष्टाहरुको परिचय, वार्षिकोत्सवका अवसरमा आयोजना गरिँदै आएको एकल सृजना प्रस्तुति ‘अभिव्यक्ति शृङ्खला’को विवरणसहित केही ऐतिहासिक महत्वका लेखरचनाहरू स्मारिकामा समेटिएका छन् । जसमध्ये टंक वनेमको ‘नेपाली साहित्यमा लाहुरेको तस्बिर र लाहुरे स्रष्टाहरू’, दीपा लिम्बू राईको ‘पल्टनघरमा नारी स्रष्टाहरू’, रक्ष राई र मिजास तेम्बेको ‘नवचेतानग्रह’ तथा ‘डायस्पोरा सिद्धान्त र सृजना’, गणेश राई, काङमाङ नरेश राई र अप्जसे कान्छाको ‘युद्धसाहित्य सिद्धान्त’, चोक गुरुङको ‘बेलायतमा नेपाली सङ्गीतको विकास’ र बैरागी काइँलाको ‘वेल्स भ्रमणको दैनिकी ः ब्रेकनदेखि स्वान सीसम्म’ स्मारिकाभित्रका विशेष सामग्रीहरू हुन् ।
यसै गरी श्रवण मुकारुङ, शशी लुमुम्बू, डा. रुपक श्रेष्ठ, देवेन्द्र खेरेस, निर्मला परिवेश राई, लालसुन्दर राई, चन्द्रकला थेबे, अन्जु अन्जली र शशी थापा सुब्बाका काव्यसृजना, उपेन्द्र सुब्बा र नरेश नातिका कथा र चन्द्र रानाहँछा लगायतका लेखहरू स्मारिकाका थप परिकारहरू हुन् ।
बेलायती नेपाली खासगरी पल्टने साहित्य, कला र संस्कृतिका बारेमा जान्न चाहनेहरूका लागि ‘एक दशक’ स्मारिका उपयोगी सामग्री हुने संस्थाका अध्यक्ष दयाकृष्ण राईले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *