
गणेश राई
नामः गणेश राई
जन्मः १ चैत्र २०१७
डम्बरखु शिवालय गाविस १, हाँडीखोला खोटांग
आपाः क्याप्टेन डिकबहादुर राई
आमाः दौलथी राई
शिक्षाः प्रवेशिका
प्रकाशित कृतिः
१.राइफलको नालबाट जीवन नियाल्दा (सस्मरणत्मक उपन्यास)
२.राइफलले फलाकेको जिन्दगी .(कविता संग्रह)
३.युद्ध एम्बुसमा राइफलको संगीत (युद्ध उपन्यास)
४. राइफलको मूच्र्छना (युद्ध उपन्यास)
५. युद्ध साहित्य सिद्धान्त र सिर्जनाहरु (संयुक्त लेखन, सम्पादन र प्रकाशन)
६. फोकल्यान्ड जर्नल
रुचिः युद्ध साहित्य लेखन, अध्ययन, भ्रमण ।
अब्दुल्ला कुर्दिस
धिक्कार छ
म बाँच्नुको निरन्तरता
यही धरतीमा
जहाँ चुँडियो गुलावजस्तो सुन्दर आय्लान
मेरो मुटुको फूलबारिबाट
धिक्कार होस्
यही संसारसित
कुनै चिज मैले माग्नु
जसले चुड्यो
मेरो हतकेलाबाट
मेरो प्रिय गालिब
पुरिन चाहन्छु
म अब्दुल्ला कुर्दिस
काबोनि चिहानमा
जहाँ पुरिएका छन्
मेरा जीवनका अभिन्न सत्य
ओठभरि मुस्कानको गुलाव फक्राउने
मेरो अवोध अयलान
मलाई व्युझाउँने भालेको पहिलो डाँक थियो
के गल्ति थियो
त्यो बालकको
र लियौं नौनिजस्तो उसको जीवन
म मर्न चाहन्छु उनिहरुसितै
चाहिएन मलाई यो पृथ्वीको
एक पाइला पनि वर्जित यात्रा
पालमाइराको सभ्यताभन्दा
मेरो गालिव महान सभ्यता
खेल्ने मेरो साथि थियो
के भुल भयो उसको
र लुट्यौं उसको पुतलीजस्तो ज्यान
मेरा जून तारा
अयलान र गालिव
रहेनन् अब यो दुष्ट धरतीमा
को सित खेल्नु फगत म एक्लो
हे अल्लाह !
के बिराएँ मैले
र खास्यौं तिमीले
मेरो जीवनबाट धड्कन
कति अभागि म अब्दुल्ला कुर्दिस
न मर्न सकेँ
मेरी रेहानको चिहानमा
न बाँच्न सकेँ
उनको आँखाको मायामा ।
लालबुक जीवन
रातो रगतको आवरणभित्र
सोझो सिपाहीका इमान्दार पङ्तीजस्तो लहर
ठड्याइएको छ अक्षरहरुको पर्खाल
प्लास्टर गरिएको छ चिल्ला शव्दहरुले भित्ता
कोठाको बिचमा झुण्डाइएको छ रङगीन पासो
सिपाही जिन्दगीको हुकुमी कारागारभित्र
परिबन्दको कैदी हूँ म भूतपूर्व वारण्ट अफिसर गणेश राई
बदलिएको छ मेरो चिनारि एकाएक
थपिएको छ विशेषण पेन्सने बूढो
जो महिना मर्न बित्तिकै पेन्सन अफिस पुग्छ
र नोटको ऐनामा आफूलाई केहीबेर जवान देख्छ
त्रिपक्षिय सन्धीको छलि अनुहार
त्यसको आभूषणभित्र छिपेको षड्यन्त्रको जालो
मुट्ठीमा पर्न विवश पेन्सने यो जीवन पनि
मलाई नसोधी कसरि उठायो जीवनको धुरी
दुविधा या असहमत हुनुको बिद्रोह छ मभित्र दबिएको
नितान्त निजि मेरो जविनको छायामान्छे
लालबुकमा अवतरण गराइएको छ एकाएक
स्वीकार्न बाध्य पारिएको छु म लालबुकभित्र कैदी
उसको बदनियत
निर्दयता
र, छलछाम
म हैन
म हुँन सक्तिनँ
भन्दिनँ, त्यहा राइफल नहोस् र कत्र्तव्य पनि
त्यहा एम्बुस नहोस् र मृत्यु पनि
जीवन पड्किएकै हो प्रत्येक पाइला थिचिदा
जीवन लास बनेकै हो हरेक सन्त्रास ब्यँुझिदा
एम्बुसभित्र म आफै ढलेछु लालबुक मृत्यु
सेतो पानाभरि टाँगिएको कालो अक्षरको डफ्फा
जीवनजस्तो हरियो हुन्छ कि हुदैन !
विवेकि तपाई खुट्याउँन सक्नुहुन्छ
लालबुक जीवन र मेरो जीवन बीचको भिन्नता
उत्तानो पल्टेको छु तपाइँको आँखामा म नालायक अक्षर
निष्पक्ष गर्नुहोला फैसला तपाइँ दुबैलाई जाचेर
गोर्खा ह्याटले उभ्याएको मेरो योद्धाजीवनको कद
र ढाका टोपिले चुलिएको मेरो स्वतन्त्र शिरको उचाई
कुन अग्लो छ, कृपया नढाटी भन्नुहोला
नो म्यान्स् ल्याण्डमा अलपत्र थोत्रो बुटको पद्चाप
हरायो भन्ठानेको लालबुकको पानामा पो खसेछ !
सम्झेथेँ, खुकुरीको चम्काई दुश्मनको मृत्युमा विलायो
अक्षरमा रुपान्तरित त्यो मेरै जीवन पो उभिएछ
कस्तो विडम्वित ! जीवन मेरो
राइफल उभिदा उभिदा होचिएको आफ्नो कद
आँगनमा टेकेको हात्तिछाप चप्पलको पाइला खै कहाँ भासियो !
रगतको फाल्सामा फुलेको पपिफुलको नमीठो हरक
ठोक्किन आउँला ! अप्रत्यासित तपाइँको नाकमा
युद्धभूमिमा रोएको घाइते सिपाहीको चित्कार
रेटिन आउला तपाइँको हृदयको पहरामा
अथवा असहाय सिम्माको आँखाबाट तप्केकोृ बलेसी
भिज्न आउँला तपाइँका आँखामा
अन्योलग्रस्त छु कसरी म बेकामे लालबुक भएँ !
कसरी म लालबुकभित्र जाकिएँ !
लालबुकको कठघराभित्र सिमित पेन्सने
अस्विकार गर्छ यो सिमितता
सिताङभन्दा विशाल पसिनाको नदी
इम्फालभन्दा उच्च बैंशको उभार
तोबु्रकमा बगेको रगतको नाइल
मानचित्र भरि बिस्फारित गोर्खाली योद्धा
कसरी खुम्च्याइएँ जाबो कागजको पानाभित्र !
कसरी बन्दी भएँ म बेकामे लालबुकभित्र !!
ओ, गोरा साहेब
जवाफ देऊ
न्याय खोज्न म आएँ
लालबुक उभिएर
तिम्रै अदालतमा छु म हाजिर
म लालबुक मृत्यु बाँच्न सक्तिनँ ।।
जाडो र मान्छे
सपनाहरुको जम्काभेट
या हृदयहरुको अपार सम्मेलन
यो स्ट्राटफोर्ड ओलम्पिक पार्कको चर्चहिल छातिजस्तै चिसो
युगौंदेखि कोरिएको भेद्भावको विषुवत रेखाको परिधिले बाँधिई
जाडोसँग जुझ्दै उभिरहेछु
समयले भुलेको यौटा पेन्सने बूढो म
जाडोको क्रुरता र त्यसको आक्रान्त बिरुध्द
धैर्यले तातिइरहनु मेरो नियति
युद्धमा निस्केको जोसिलो सिपाहीजस्तो
खोजिरहेछु म त्यही दुश्मन
जसले चकनाचुर पा¥यो चोमोलुङमा पुग्ने मेरो सपना
गोरा साहेबजस्तै अति चिसो
क्रिसमसको यो वेलायती जाडो
सम्वेदनाबिहीन निष्ठुर मुटुजस्तो
समयको यो निर्मम प्रहार
खसेको छ सेताम्मे तुषारो दृष्टिभरि
र, जमेको छ भावना निर्जिव लम्पसार
जस्तो कि सम्वेदना मरेको तानासाही पागल
बर्बरताको सनकमा मान्छे बिरुध्द खनिएजस्तो
मौन म सहन सक्तिनँ अब अरु
खुम्चिनुको पनि सिमा हुदोरहेछ
मेरो धैर्यताको खरपस भत्किन लागेको छ
मलाई थाहा छ
जाडोको क्रुरता कठाङग्रिदैं जीवनको रिक्ततासम्म चुलिनु हो
वातानुकुलित या न्यानो जडित कोठाको आयतनभित्र
सम्भवतः पीडा, कष्ट वा मृत्यु बनेर
त्यो किञ्चित छिर्न सक्तैन
बस् यति नै गुन छ जाडोको
कि त्यसले मान्छेको रगत, रङ्ग या पसिनाको जोखाना हेर्दैन
ए गोरा महासय
तिम्रो शालिन आवरणभित्रको बरफि ओढारमा
मान्छे मान्छे बीचको परिभाषा
किन फाफाल्टो हुन्छ ?
जाडो क्रुर हुँदाहुँदै पनि
त्यसको क्रुरताको सिमा छ
क्रुरतासँगै सम्वेदना छ कम्तिमा जाडोसित
पृथक पृथक छैन सम्वेदनाको परिभाषा
बस् ! फरक यतिनै छ
जाडोको आत्मा हुदैन
र पनि आत्मिय छ
शिशिर पछिको बसन्त
अटल आशा र भरोसा ठानिएजस्तो जीवनको
मान्छेको क्रुरतादेखि
क्रुरतासम्मको दूरि पार गर्न मान्छेले
कहाँ सक्दो रहेछ र !
जाडोले पराकाष्ठा नाघेको छ र पनि
आजकाल जाडो नै प्रिय लाग्छ मलाई
पत्थरले बनेको मान्छे भन्दा
जति नै जाडो होस्
जाडोनै आत्मिय लाग्छ मलाई।।
