
टंक वनेम
नाम–टंक वनेम
जन्म–भदौ ५,२०२०
जन्म स्थान–मैवाखोला चुम्लोक (हाङ्बुङथाम),ढुङ्गेसाँघु, ८ ताप्लेजुङ् ।
पेशा–सेवानिवृत ब्रिटिस गोर्खा सैनिक (सन् १९८२–१९९६)
प्रकाशित कृति–
१.साँघुरी र बूढासुब्बा (कविता सङ्ग्रह २०६३)
२.पेन्जिरि पेन्–मिक्हाः (भूल गर्ने जोडी आँखा–लिम्बू–सिरिजङ्गा लिपिमा–कविता सङ्ग्रह २०६३)
३.सङ्गिनको मूच्र्छना–(कविता सङ्ग्रह २०६९)
४.सिन्धोलुङ् फागो वनेम वंशावली इतिहास र मुन्धुम् – इतिहास खोज अनुसन्धान,सङ्कलन तथा लेखन
५.श्लेशमान्तकको साम्माङ् (कथा सङ्ग्रह २०७१)
प्रकाशोन्मुख कृति–
सुदूर विस्मृतिका विम्वहरु (संस्मरण)
लेखन विधा–कविता,कथा,संस्मरण,मुन्धुम्,इतिहास तथा खोज अनुसन्धान सम्बन्धि लेखहरु ।
सिनाबुङ सुनामी नृत्य ।
सगरमाथाको नाङ्गो शरीर
सिन्ध नदीको क्रोध
र
हाइड्रोजन साइनाइटको वारुदी गन्ध
विज्ञानको यथार्थ भूमिमा उमारिएको सभ्यता
जहाँ
कोपारिन्छ प्राकृतिको सुन्दरता
रमाउँदै मनाइन्छ
विनासको स्वतन्त्रता दिवस
दूरददेशमा
कमिलाहरुको जन्ति देख्न
हिँउद कुर्नु पर्दैन अव
भ्यागुताहरुले साइनो गाँस्न
न असारको बर्षे झरी पर्खनु पर्छ
चिम्नीका धूवाँहरु वादलको घोडा चढ्छ
र
मनुश्यहरुको मृत्युमाथि टाङ फार्छ ।
सिनाबुङ !
तिमी कहाँ त्यसै ज्वालामुखी भएर पड्केका हौ र ?
सिन्ध नदी !!
तिम्रो क्रोध कहाँ त्यसै भत्केको हो र ??
सगरमाथा !!!
मुक दर्शक भएर हेरि रहेछौ
तिमीलाई कस्ले नाङ्गो बनायो ???
जीवन र मृत्युको पैतालाहरुलाई
किन थाहा नहुनु
वादलको घोडा चढ्ने
ति चिम्नीका वादशाही कोर्रा ।
कोलाहल शहरको गल्लीबाट
खोलाको वैराग लाग्दो स्वर नसुनेर हैरान हुँदै
भुल गर्ने जोडी आँखाहरु
टोलाई रहेका छन्
आकाशतिर सोझिएका
तिनै चिम्नीका धूवाँहरु हेर्दै ।
अव
तिनै कालो धूवाँहरु
भेडा वादलहरुमाथि चढ्नेछ
र
विनासको स्वर निकाल्नेछ
अलाप्दै
प्राकृतिक प्रकोपको भैरवी स्वर
नाच्दै सुनामी नृत्य
सुकाउँदै घामको रापले भोकको रोटी
निस्कनेछन्
हिउँको पहाडहरुबाट
मृत्युका असंख्य धुनहरु ………………
सय रुप्पेले बाँधेको साइमासा
अत्याधुनिक पप नगरीले
आधुनिकताको फेरो हालेर नघुमाएको मन
बुकी फूल र भेडीगोठको नागी
कहाली लाग्दो कुहिरोमा हराएका
भेडा डाक्ने लोक भाकाहरु
बल्झि रहन्छ
दाउरा काटेको टाक्कटुक्क
सोतर सोरेको साराम सोरम
तरुनी मन घोच्ने
खर्सुको काँडे घाँस
चिमखोलाको डाँडाकाँडाले
एम्बुस थापेको ऐँसेलु बैँस
त्यहीँ उकाली ओरालीले
नमेटिने तिर्सना ।
कोलाई हेरी मन बुझाइयो कुन्नि ?
त्यै भुरो (लाहुरे)
वादल पारि भए पछि
अहिले पो “अनु भोक भो”
त्यसै खेर गएछ
मुर्झाउँदो बेमौसमको तरुनी रहर
अक्कल झुक्कल मात्र
खहरे बैँससंग जुहारी खेल्ने
ब्याक्त होइन
अनुभूत मात्र हुने मायाको कुरा
विचरा !
अनिदो पहाडकी पात्रा
पुलिसको जातसंग बिहे गरेर
काँडैकाँडामा सुते जस्तो ।
के होला ?
छुटेको मन खाने चिज
कति रोयो रोयो
छङ् ….छङ् ….गर्ने बैँस
बग्यो कि बगेन
बग्दै जाने मनको नदीपुर
सुक्यो कि सुकेन
सपनाको बिस्कुन
उधुमसंग जागि रहन्छ
डेट गएको अतितको मोह
बर्षे भेलले बगाएर बचेको
खिर्रोको बोट जस्तो
हिउँदे तुसारोले खाएर
ठिट लाग्दो बनेको बुकी फूल
सय रुप्पेको साइमासाले
बाँधेको शिरको सिँदुर ।
संम्झनाको पाना पर्लक्कै पल्टाउँदा
बनको बुकी फूल जस्तै लाग्छ
मनसुनी हावा आएर
पहाडमा ठोक्किए जस्तो
खोइ के फरक थियो होला र ?
बुकी फूल र लाहुरेनीको
अभिशप्त जीवन
प्रतिक्षाको बाघे ऐनामा कैद भएको
सुकुमारी माया र संम्झनाहरु ।
साइमासा–चिमखोला म्याग्दी क्षेत्रमा बोलिने टिपिकल भाषा अनुसार विवाह हुनु अघि बेहुलीलाई बुझाईने दस्तुर वा बैना ।
भोटो युद्ध
मलमलको कपडामा मणि माणिक
बहुमूल्य रत्नजडित भोटो
रथको बुर्जाबाट घुमाउँदै चारैतिर
सोधिन्छ प्रत्येक वर्ष
हे भोटो यात्री हो !
यो कस्को भोटो हो ? प्रमाण देखाउ
कर्कोटक नागले दिएको उपहार
कसै न कसैको हुन सक्छ
तर
हजार छ सय बर्षसंम्म
कसैले देखाउन सकेको छैन
त्यो बहुमूल्य माणिकवाले भोटोको प्रमाण
कोहो त्यो भोटोको मालिक ?
आलीमा राखेर
भोटो हराउने वैद्यको भोटो हो या
मचिन्द«नाथको भोटो जात्रा हेर्न आउने
रहस्यमय भूतको हो ?
सवुत प्रमाण पु¥याउँन
र
सुख शान्तिको फल पाउन
प्रमाण जुटाउने प्रयास गर्दै
भोटो जात्रा गरि रहेछौं
के वर्षा र शहकालको देवता
रातो मचिन्द«नाथको रथयात्रामा
कसैले ल्याउला ?
यो मेरो भोटो हो भन्ने प्रमाण ?
त्यहीँ खेतको गहरामा हराएको भोटो
मचिन्द«नाथको रथयात्रामा
रहस्यमय भूतले पहिरिएर आएको थियो ।
वर्तमान–
उहीँ भोटो चोर्ने रहस्यमय भूतहरु जागेका छन्
र
बागीहरु बाँचेका छन्
वैद्यहरु शिरमा सिम्रिक टाँसेर
उपहार पाउनुको कठघरा धाई रहेछन
मचिन्द«नाथको रथयात्रामा
भोटो युद्ध चलि रहेछ
गणतन्त्रको शिर पाउ लगाएर
भोटो यात्रीहरु हिँडिरहेछन
कहाँ छ त्यो यात्राको गनतब्य ?
कर्कोटक नागको भोटो मेरो हो भन्ने
कठघराको निर्णायक थलो ?
देशको अभ्रुक छोप्न नसक्ने भोटोमा
किन चलि रहेछ भोटो युद्ध ?

1 comment for “टंक वनेम”