देबेन्द्र खेरेस

 

 

 

 

 

 

 

 

 

 

नामः देवेन्द्र खेरेस

जन्मस्थानः निर्मली डाडाँ, खोटाङ
हालः केन्ट, बेलायत
लेखनः कविता/समालोचना
कृतिः रूङ्रीको बयान र नदी किनारा (कविता संग्रह)

 

१. परदेशी मोह
घर
र परदेशको दुरी टाढाभए…पनि
आँगनको माया धेरै नजिक
दलानको सम्झना धेरै गाढा
र चुल्हाको चिन्तन धेरै गम्भीर
घरलाई एति धेरै माया
कसैले गर्दैन
जति परदेशीले गर्छ ।

घरको
चरसँगको नाता
परदेशीलाई थाहा छ
घरको मूलढोकाबाट भित्र पस्नु
र जस्केलाबाट बाहिरिनुको अर्थ
परदेशीलाई थाहा छ
तर ऊ भन्दैन
अर्थको कुरा
घर बन्धनको कुरा
उसले जानेको यति हो
घरसँग उसको नाता छ
गहिरो
प्राचीन
र अजम्बरी ।

परदेशी
मनमा, तनमा
घरको माया लिएर
जहाँ पुगे पनि
जहाँ डुले पनि भेटिदैन
घरको माया बिसाउने ठाउँ ।

घरमा बस्ने
घरमा रमाउने
परदेशीको चाहना
तर उसका चाहनाहरू
कसैलाई भन्दैन
परदेशी
घरको मायाले
दिन रात रुन्छ प्रवासमा
हाँस्छ प्रवासमा
र घर सम्झिदै उसको दिन बित्छ
बित्छ रात ।
घर र परदेशी छ
परदेशी छ
र घर छ
परदेशी… म परदेशी ।

 

२. एभन नदी र क्याफे
एभेन नदी
हिजो जसरी बगेको थियो
आज पनि बगेकै छ
नदीमा बगेको पानी कहाँ–कहाँ पुग्यो होला ?
तर नदी त्यहि छ
बालुवाको ढिस्का उहि हो
किनारा साँची छ ।

नदी किनारमा उभिएको
भिक्टोरियन क्याफे
समयको रमिता हेरेर वैश वित्यो
क्याफेमा थकाई मार्न आउनेहरू
आउछन्–जान्छन्
पहिले–पहिले आउनेहरू कोहि आउछन्
कोहि आउदैन
तर त्योे क्याफे
हिजो जहाँ थियो
आज पनि त्यहिँ छ
क्याफेका कामदारहरू बद्ली भए
मालीकहरू बद्ली भए
तर कुर्सि
टेबल
र वेन्चहरू बद्ली भएको छैन
कफी
वियर
र ह्वीस्कीको स्वाद पनि उस्तै छ ।

हिजो त्यहि क्याफेको कुर्सीमा बसेर सेक्सपीयर
घण्टौसम्म नाटक रिहल्सन् गर्ने गर्दथ्यो
त्यहि टेबलको ह्वीस्कीले मातेर
चर्चिल
पटक–पटक युद्वको भाषा बोल्ने गर्दथ्यो
र त्यहि वेन्चमा ह्यारीपोटर लेखेर
जे के रोलिङ
चर्चाको शीखर उक्लिएको थियो
तर आज त्यहाँ सेक्सपीयर आउदैन
चर्चिल आउदैन
र जे. के. रोलीङ पनि
चर्चाको भारी बोकेर
अन्तै सरेको छ ।

अस्ति भरखर मात्र
डानीयल स्मिथ
र उनका एकहुल साथिहरू
ग्रीष्मकालीन जाडो छल्न आए
एक दर्जन वियर सिध्याए
र एक बट्टा चुरोटको धुवाँ उडाए ।

एभेन नदि
वील्टशायर भ्यालीको काखमा
हिउँद भरी झोक्राएर बग्छ
र वर्षायाममा रमाउदै बग्छ
नदी बग्नु रहेछ
निरन्तर बगिरहेछ ।

 

३. डोभर वीच
इङलीस च्यानलको काखमा
ढोभरवीच
दिशाहिन हावाको गतिले
पानीको छालहरू तर्काइरहन्छ
घरि एता..
घरि उता…
वैंसको नग्नताहरू
समरमा ग्लामर शो
वीन्टर नछिप्पिदै आत्माहत्या हुन्छ ।

बालुुवाको थुप्रो माथि
झोक्राइरहेका भिक्टोरिइन क्यासलहरू
विगतलाई काखिच्यापेर
वर्तमानको रमीते
इतिहासको फाइलमा चेपीएर
आइरन ऐज
भाइरसको चारो भएर
बिहान बेलुकी चपाइने
स्यान्ड्वीज र बे्रडजस्तै
समय नील्छ ।

समुद्रको छालहरूमा देखिने
पानीको गुच्छाभैm
पप
वार
र नाइट क्लवहरूमा
रात नछिपिदै
वैस चढेपछि
वीयर
र ह्वीस्कीको चुस्किले
सर इल्टन जोन्सको नपुंसक सगींंतमा
उफ्रिन्छन् इङ्लीस गेहरू
नाङ्गिन्छन् लेडि गागाहरू ।

समद्रमा तैरिदै आउने मालबाहक जहाजहरू
विश्व नीलेर पनि कहिले नअघाउने
साम्राज्य नीति
सधै ह्याङओभर सपना पालेर
ढल्किदै गएको उमेर
थोत्रिदैे गरेको जिन्स पेन्ट
र रितिदै गरेको गिलास हेरेर
थकान मेटाउछन्
युरोपीयन हिप्पीहरू ।

समाप्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *