अन्जु अञ्जली

 

अन्जु अञ्जली

नाम : अन्जु अन्जली

जन्म मिति र जन्म स्थान : बैशाख १४, भोजपुर, कुलुङ
आमा वावुको नाम : टिका माया राई, टेक बहादुर राई
हालको वसोवास :  बेलायत

 

प्रकाशित कृतिहरु :

१. फेरि किन विछोड (उपन्यास) २०५९,
२. च्यातिएर वर्तमान (गजल संग्रह) २०६१

 

 

 

संस्थागत संलग्नता (साहित्यिक संस्थाहरु)

नेपाली प्रतिभा प्रतिष्ठान (बेलायत),पूर्वाञ्चल गजल मञ्च (नेपाल), मोरङ, गजल मञ्च (नेपाल)

पुरस्कार/सम्मानः पूर्वाञ्चल स्तरीय गजल प्रतियोगिता २०५९(प्रथम), पूर्वाञ्चल स्तरीय कविता प्रतियोगिता २०५९(द्वितीय), चन्द्रसूर्य सीप विकास संस्थाद्वारा सम्मान (२०६०), नेपाली प्रतिभा प्रतिष्ठान द्वारा सम्मान (२०६९)

 

गजल

सम्झिएर रोएँ आज दुःखेर फेरि रोएँ
झर्दा झर्दै आशु सगै डुबेर फेरि रोएँ

बिदाईमा रुनु हुन्न सम्झाउदै बाटो लाग्यौ
मन न हो एकान्तमा लुकेर फेरि रोएँ

सधै आफ्नो मान्छे सग टाढिएर बस्नु पर्ने
कस्तो रै छ आफ्नै भाग्य थुकेर फेरि रोएँ

तिमी आउने दिन गन्दै याद भरि छट्पटिदै
फर्कने त्यो बाटो तिम्रो ढुकेर फेरि रोएँ

रात लामो दिन लामो प्रतिक्षा नि कति लामो
कुर्दा कुर्दै आशाको दिप फुकेर फेरि रोएँ

बिना तिमी एक्लो जीवन हिड्दा हिड्दै थाकेर
सुस्केरामा पाईलाहरु रुकेर फेरि रोएँ !

गजल

मुस्कानका ती लहर सँगै सर्सराउन थालें अचेल
ढुकढुकीमा तिम्रै नाउ फर्फराउन थालें अचेल

आफैलाई बिर्सीएर संझिएको मान्छे तिमी
तिम्रै यादका घाउ भरि चर्चराउन थाले अचेल

अपाङ्ग थ्यो जिन्दगी यो बैसाखी नै बनि आयौ
तिमी बिना प्रत्येक कदम लर्बराउन थाले अचेल

खै के जाँदु गर्यौ तिम्ले हर रात सपनिमा
पागल जस्तै तिम्रो नाम बर्बराउन थाले अचेल

नदिएरै दियौ तिम्ले प्रीतका यी नशाहरु
बेहोस–बेहोस भएछु म धर्मराउन थाले अचेल !

 

बिदाइको रात
ढोकालाई सिमाना बनाएर
भित्र र बाहिर उभिएका थियौं
तिमी र म,

आँखाभरी अव्यक्त रारा बोकेर
मनभरी शुषुप्त ज्वालामुखी बोकेर
वायाँ छातिमा प्रेम
दायाँ छातिमा कर्तव्य सिउरिएर
विदा माग्यौ तिमीले
आफुभन्दा प्रिय जीवनसाथीलाई
आफुभन्दा प्रिय आफ्नो छायाँलाई

दुश्मन बिरुद्ध धावा बोल्न
तिमी लाग्यौ युद्धमैदानमा,
तिमी युद्धमा गएसँगै
मभित्र शुरु भएको छ अर्को युद्ध
तिम्रो सम्झनाको
तिम्रो प्रेमको
तिम्रो अवस्थाको

मनभरि मडारिएर संकाको सुनामी
सोच्दैछु तिमी र युद्धलाई
सोच्दैछु मेरो सिउँदो र युद्धको सिमानालाई

के युद्धवाट तिमी सकुसल फर्कन्छौं ?
या त कुनै अङ्ग गुमाएर
बहादुरीताको घाउहरु तकमा बनाएर
छातिमा भिरेर आउछौ ।

फेरि सोच्छु,
के युद्धले प्रेमको भाषा बुझ्न सक्छ ?
के युद्धले आँसुको मुल्य र हृदयको पुकार सुन्न सक्छ ?

म एक वहादुर सिपाइकी स्वास्नी
म एक बहादुर सिपाइकी छोरी
म एक बहादुर सिपाइकी आमा
गर्व छ मलाई यो सम्वोधनको
गर्व छ मलाई यो परिचयको

सँगसँगै छ एउटा प्रश्न पनि

आफु जस्तै मान्छे मार्नु के बिजय हो ?
के युद्धले कविता बुझ्छ ?
के बन्दुकको नालवाट कमलको फूल फूल्छ
जसलाई म जस्ता सिपाहीको स्वास्नी, छोरी र आमाहरुले
सप्रेम आफ्नो शिरमा शिउरिन सकोस ?

1 comment for “अन्जु अञ्जली

Leave a Reply

Your email address will not be published. Required fields are marked *