प्रेस बिज्ञप्ति मितिः २२ सेप्टेम्बर २०१९
प्रतिभा सम्मान तथा पुरस्कार – २०१९ घोषणा ! [प्रेस विज्ञप्ति पढ्नुहोस !]
नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले यस वर्ष वरिष्ठ कवि गोपाल पराजुलीलाई ‘प्रतिभा सम्मान – २०१९’ र चर्चित गीतकार एबं संस्कृतिकर्मी शुभ मुकारुङलाई ‘प्रतिभा पुरस्कार – २०१९’ प्रदान गर्ने निर्णय गरेको छ । सम्मानमा बीस हजार नगद, ताम्रपत्र र दोसल्ला रहेको छ भने पुरस्कारमा एक लाख नगद राशि र ताम्रपत्र रहेको जानकारि गरिन्छ ।
वि.सं. २००७ साल पौष २ गते आईतवारका दिन काठमाण्डौंको कोटेश्वरमा जन्मिनुभएका सम्मानित प्रतिभा कवि गोपाल पराजुलीले वि.सं. २०३६ सालमा आफ्नो पहिलो कृति ‘गोलार्धका दुई छेऊ’ नाटक संग्रह प्रकाशीत गर्नुभएको हो । उहाका अन्य कृतिहरुमा पृथ्वीमाथि आलेख, दिशाहिन आकाश, हिमालमाथि आलेख, अर्को दिशा, देशमाथि आलेख, शब्द सताब्दी, समानान्तर सडक, शताब्दीको यौटा पत्र, सडकपछि सडक, समयको प्रस्थान, नया ईश्वरको घोषणा, अर्को विश्वको प्रस्ताव र यौटा जेलबर्डको चिट्ठी आदि प्रकाशित छन्। उहालाई नेपाली कविताको क्षेत्रमा विशिष्ट योगदान पुरयाएवापत ‘प्रतिभा सम्मान’ प्रदान गरिने भएको हो ।
यसै गरी वि.सं. २०२८ साल साउन १३ गते भोजपुरको दिल्पा अन्नपूर्णमा जन्मिनुभएका चर्चित गीतकार शुभ मुकारुङका शायद, सम्बेग र स्वीकृति गरि तीन गीति एल्बम र पुग्नु कहा थियो नामक एक गीति संग्रह प्रकाशीत छन् भने संस्कृतिमा आधारित कुृतिहरुमा हामी, कथा ढुङगै ढुङगाको, किरात राई जाति मुन्दुमी सामग्री र कथा पानीको गरि जम्मा चार कृतिहरु प्रकाशीत छन् । नेपाली गीति लेखन र सांस्कृतिक खाोज अनुसन्धान आदिका माध्यमबाट नेपाली समाजको रुपान्तरणमा उल्लेखनीय योगदान पुरयाएवापत स्रष्टा मुकारुङलाई ‘प्रतिभा पुरस्कार’ प्रदान गरिने भएको हो ।
सन् २००८ मा बेलायतमा स्थापित यस संस्थाबाट हालसम्म स्व. ईश्वर मानन्धर, स्व. अम्बर गुरुङ, जीवी लुगुन, भक्तराज आचार्य, प्रा.डा. गोविन्दराज भटराई, बूद राना, टेकवीर मुखिया, प्रद्युम्न श्रेष्ठ (सिक्किम), भागीरथी श्रेष्ठ, बेणु आचार्य र दावा ग्याल्मो (दार्जिलिङ) सम्मानित भइसक्नुभएको छ । यसै गरी ‘प्रतिभा पुरस्कार’बाट यसअघि नवीन विभास, कुवेर राई, उपेन्द्र सुब्बा, श्रवण मुकारुङ, मोमिला जोशी, राजकुमार दिक्पाल, भूपाल राई, बीबी अनुरागी, टीका चाम्लिङ, फुलमान बल र बलराम अधिकारी पुरस्कृत भइसक्नुभएको छ ।
मिजास तेम्बे
महासचिव
नेपाली प्रतिभा प्रतिष्ठान, बेलायत

1 comment for “प्रतिभा सम्मान तथा पुरस्कार – २०१९ घोषणा !”