No announcement available or all announcement expired.
प्रेस बिज्ञप्ति : नेपाली प्रतिभा सम्मान तथा पुरस्कार २०२१ घोषणा !
प्रतिष्ठानका अध्यक्ष गणेश राईको अध्यक्षतामा बसेको प्रतिष्ठानको भर्चुअल बैठकले वरिष्ठ गीतकार प्रा.डा. कृष्णहरि बराललाई ‘प्रतिभा सम्मान’ र युवा संगीतकार गणेश गुरुङलाई ‘प्रतिभा पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ ।
वि.सं. २०१० साल कार्तिकमा सिन्धुलीको हत्पतेमा जन्मिनुभएका डा. बराललाई नेपाली गीत तथा गजलका क्षेत्रमा विशिष्ट योगदान दिएवापत ‘प्रतिभा सम्मान’ प्रदान गरिने भएको हो भने वि.सं. २०३० वैशाख १५ गते पाचँथरको रानीटारमा जन्मिनुभएका गणेश गुरुङलाई संगीत सृजना तथा एरेन्जका साथै संगीत प्रशिक्षणसमेत गरेर नेपाली गीतसंगीत क्षेत्रमा महत्वपूर्ण योगदान दिएवापत ‘प्रतिभा पुरस्कार’ प्रदान गरिने निर्णय गरिएको हो ।
सन् २००८ मा बेलायतमा स्थापित यस संस्थाबाट हालसम्म स्वर्गीय ईश्वर मानन्धर, स्वर्गीय अम्बर गुरुङ, जीवी लुगुन, भक्तराज आचार्य, प्रा.डा. गोविन्दराज भट्टराई, बूँद राना, टेकवीर मुखिया, प्रद्युम्न श्रेष्ठ (सिक्किम) र भागीरथी श्रेष्ठ, वेणु आचार्य, दावा ग्याल्मो (दार्जिलिङ) का साथै गोपाल पराजुली र डा. राजेन्द्र विमल सम्मानित भइसक्नुभएको छ ।
यसैगरी ‘प्रतिभा पुरस्कार’बाट हालसम्म नवीन विभास, कुवेर राई, उपेन्द्र सुब्बा, श्रवण मुकारुङ, मोमिला जोशी, राजकुमार दिक्पाल, भूपाल राई, बीबी अनुरागी, टीका चाम्लिङ, फूलमान वल, बलराम अधिकारी, शुभ मुकारुङ र विमला तुम्खेवा पुरस्कृत भइसक्नुभएको छ ।
सम्मानमा पचास हजार रुपियाँ नगद, ताम्रपत्र र दोसल्ला रहेको छ भने पुरस्कारमा एक लाख रुपियाँ नगद राशी र ताम्रपत्र रहेको छ।
देबेन्द्र खेरेस महासचिव, नेपाली प्रतिभा प्रतिष्ठान, बेलायत।