१६ औ अभिव्यक्ति शृङ्खला र कृति ‘बैरागी काईला नागरिक अभिनन्दन ग्रन्थ’ लोकार्पण

बेलायत, ७ जुन २०२५ शनिबार नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्धारा आयोजीत १६औ अभिव्याक्ति शृङ्खला  कार्यक्रम बाक्लो उपस्थिति माझ सम्पन्न भएको छ । आसफोर्ड स्थित साइमन चर्चहलमा सम्पन्न कार्यक्रममा वरिष्ट कवि तथा समालोचक दवेन्द्र खेरेसलाई मञ्च प्रदान गरिएको थियो । बेलायतका लागि नेपाली राजदुत श्री चन्द्र कुमार घिमिरे प्रमुख अतिथि रहेको कार्यक्रममा नेपाली भादगाउँले टोपी र ताम्रपत्रले स्रस्टा देबेन्द्र खेरेसलाई १६औ अभिव्याक्ति शृङ्खला  २०२५ सम्मान गरिएको थियो । 

झन्डै दुइ घण्टा चलेको उक्त कार्यक्रममा स्रस्टा खेरेसले १५ थान आफ्ना उत्कृष्ट रचनाहरू प्रस्तुत गरि उपस्थित दर्शकहरुलाई मन्त्रमुक्ध बनाएका थिए । रचना प्रस्तुतको लागि सशक्त युवा कविहरू निर्भीकजंग रायमाझी र अन्जु अन्जलीले साथ  दिएको थियो । 

समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि राजदुत घिमिरेले खेरेसका कविताहरू सुनेर एक अग्रेजी भनाई “तिमीसंग घडी छ तर हामीसंग समय छ” को  सम्झना आएको वताए । उक्त भनाईको मर्मलाई  कविताले बोकेको पाए भन्नु भयो । कतै कविले बिगतलाई बोकेर हिडेको त हैन भन्ने प्रस्तुत कविताहरूमा महसु गरे भन्नु भयो ।  मानिस जहाँ पुगे पनि आफ्नो गाउँ, आफ्नो देश, आफ्नो माटो र भाषालाई छोड्न सकिदैन । त्यो छोड्न नसक्नुको भाव छ, त्यो कवितामा ओतप्रोत भएको पाए भन्नु भयो । सम्बोधनको क्रममा राजदुत घिमीरेले सबैले कवितामा डुबेर कविता बोकेर घर जान अनुरोध गर्नु भयो  । यसैगरी सभापति टंक वनेमले कवि देवेन्द्र खेरेसको सृजनात्मक यात्राको संक्षिप्त परिचय दिदै प्रवास जीवन भोगाईका पाटाहरूलाई कवितामा उतारेको वताउनु भयो । कार्यक्रममा आमत्रित बिभिन्न संघसंस्थाका प्रमुखहरू, प्रतिनिधिहरू, कला, साहित्य, संगीत सम्बद्ध बौदिक व्यक्तित्वहरू र पत्रकार तथा सर्वसाधाष्णको बाक्लो उपस्थित रहेको थियो ।

१६औ अभिव्यक्ति शृङ्खलाका सभापति र प्रमुख अथितिले पानसमा दिप प्रज्वलन गरि कार्यक्रमको शुभाराम्भ गर्नु भएको थियो । कार्यक्रममा संस्थाद्धारा प्रकाशीत वरिष्ठ कवि तथा मुन्घुम अन्वेषक बैरागी काइलाको सामाजिक तथा सृजनात्मक आयामको बारेमा लेखिएको कृति ‘बैरागी काईला नागरिक अभिनन्दन ग्रन्थ’ प्रमुख अतिथि बेलायतका लागी नेपाली राजदुत महामहिम चन्द्रकुमार घिमिरे र प्रतिष्ठानका अध्यक्ष टंक वनेमले लोकापर्ण गर्नु भएको थियो । उक्त कृतिमा  बिभिन्न कवि, लेखक, बौधिक ब्यक्तित्वहरू तथा प्राज्ञहरूको गहन लेखहरू समावेश गरिएको छ ।

दोस्रो चरणमा सस्थाका महासचिव चोक गुरूङले अभिव्यक्ति शृङ्खलाको संक्षिप्त परिचय दिदै स्रस्टाका बायोग्राफी पढेर सुनाउनु भएको थियो साथै हाल सम्म अभिव्यक्ति शृङ्खलामा मन्च प्रदान गरिएका श्रस्टाहरुको नामावली पढेर सुनाउनु भएको थियो ।

पचासको दशकबाट कविता लेख्न सुरू गरेका खेरेसका दई कृतिहरू  रूङ्रीको बयान र नदी किनारा (कवितासङ्ग्रह २०६५) र कोलम्बस यात्रा (कवितासङ्ग्रह २०७५) प्रकाशित छन् । कवि देवेन्द्र खेरेस हङकङ डायोस्पोराबाट नेपाली कविता साहित्यमा उदाएका एक सशक्त कवि हुन् । नेपाली कविता लेखनमा अलग पहिचानको मान्यता राख्ने उनका कविताहरू काव्यिक इतिहासको एउटा महत्वपूर्ण खुराक बन्न सक्दछ । कवितामा नोस्टाल्जिक प्रेम, युगौँ देखिको आदिवासी पीडा र अस्तित्वको खोज र अन्वेषण भेटिन्छन् । प्रवासबाट आफ्नो जन्मभूमिलाई समर्पीत कवितामा यन्त्रवत जीवनका भोगाइहरू छटपटिएका छन् । थोरै कविता लेखेर पनि परम्परालाई तोड्न सकिन्छ र नयाँ परम्पारको थालनी गर्न सकिन्छ भन्ने सबूत प्रमाणका रूपमा कवि खेरेसका कविताहरू बुझन सकिन्छ । कवितामा नेपालको पुरातनपन्थी सोचसँग विमती राख्छन् आक्रोशको ज्वारभाटा उकेल्छन् । कवि आफ्ना कविताहरूमा क्रमभङ्गताको पक्षमा उभिएका छन्  ।

उनका कवितामा नवीन चिन्तन, नवीन शैली र नवीन विद्रोह भेट्न सकिन्छ । कविता सवै विषयवस्तुमा उनले धेरै ठाउँ आफू जन्मेको भूगोल छोडेर डायोस्पोरामा हुनुको पीडालाई महत्वका साथ उठाएका छन् । समय अनुसार नयाँ चेतनाको विकासको वरण आजको मान्छेले गर्नुपर्ने तथ्यलाई अघि सारेका छन् । उनका कवितामा मिथक, बिम्व, प्रतीक र भाषाको समेत सुन्दर संयोजन भएको पाइन्छ । कवि खेरेसको एकल प्रस्तुतिमा १५ओटा नयाँ तथा पुराना सृजनाहरू प्रस्तुत गरेका थिए ।

कवि तथा समालोचक खेरेस जनजाती साहित्य समाज, हङकङद्धारा दुई  रूङ्रीको बयान र नदी किनारा कृतिको लागि सम्मान सन् २००८, अन्तराष्टिय नेपाली साहित्य समाज, बेलायतद्धारा कोलम्बस यात्रा कृतिको लागि  सुप्रमा पुरस्कार सन् २०२० र रावासावा प्राज्ञिक समाज नेपालद्धारा रावासावा प्राज्ञिक सम्मान सन् २०२२ बाट सम्मानित भईसक्नु भएको छ।

कार्यक्रमको अन्त्यमा सभापति नेपाली प्रतिभा प्रतिष्ठान बेलायतका अध्यक्ष श्री टंक वनेमले १६औ अभिव्याक्ति शृङ्खलाको स्रस्टा र बिभिन्न संध सस्था र कार्यक्रमलाई सफल र भब्य पार्न ब्यक्ति व्यक्तित्वहरूले ब्यवस्थापन र प्रायोजन गरेर सहयोग पुर्याई दिनु भएकोमा धन्यवात ज्ञापन साथै आगामी दिनहरूमा पनि यस्तै सहयोगको अपेक्षा राख्दै सभा समापन भएको घोषणा गर्नु भएको थियो । 

नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले स्थापनाकाल देखी बेलायतमा प्रत्येक वर्ष अभिव्याक्ति शृङ्खलाको आयोजना गरेर एकजना स्रस्टालाई मञ्च प्रदान गरेर स्रस्टाको सृजनाहरू प्रसतुत गर्दै आइरहेको छ । सन् २००७ सालमा गायक तथा संगीतकार चोक गुरूङलाई मञ्च प्रदान गरि अभिव्याक्ति शृङ्खलाको सुरू गरिएको थियो  । सन् २००८ सालमा कवि तथा निबन्धकार दयाकृष्ण राई, सन् २००९ सालमा कवि तथा कथाकार टंक वनेम, सन् २०११ सालमा संगीतज्ञ किसोर गुरूङ, सन् २०१२ सालमा कवि तथा गजलकार अञ्जु अञ्जली, सन् २०१३ सालमा गायक नोर्देन तेन्जींङ भूटीया, सन् २०१४ सालमा कवि तथा नाट्यकर्मी शशी थापा सुव्बा, सन् २०१५ सालमा कवि तथा कथाकार रक्ष राई, सन् २०१६ सालमा कवि तथा गीतकार निर्मला परिवेश राई, सन् २०१७ सालमा कवि डा. रूपक श्रेष्ठ, सन् २०१८ सालमा साहित्यकार गणेश राई, सन् २०१९ सालमा साहित्यकार जानु काम्बाङ, सन् २०२० सालमा कोभिडको कारण कुनै पनि सार्वजनिक कार्यक्रमहरू हुन सकेन र सन् २०२१ सालमा भर्चुवल जुम मार्फत कवि कोमल मल्ललाई मञ्च प्रदान गरिएको थियो। यसैगरि सन् २०२३ सालमा गायक धन किरण गुरूङ, सन् २०२४ सालमा गायक तथा साहित्यकार नरेश नाति र यस वर्ष भने कवि तथा समालोचक देबेन्द्र खेरेसलाई मन्च प्रदान गरि कार्यक्रम सम्पन्न गरिएको थियो ।

चोक गुरुङ
महासचिव
नेपाली प्रतिभा प्रतिष्ठान बेलायत ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *