प्रेस बिज्ञप्ति : नेपाली प्रतिभा सम्मान तथा पुरस्कार २०२० घोषणा !

हिजो २० डिसेम्बर २०२०, आइतबार प्रतिष्ठानकी अध्यक्ष दीपा लिम्बू राईको अध्यक्षतामा बसेको भर्चुवल सभाले वरिष्ठ साहित्यकार तथा संस्कृतिविद डा राजेन्द्र विमललाई ‘प्रतिभा सम्मान २०२०’ र युवा कवि विमला तुम्खेवालाई ‘प्रतिभा पुरस्कार २०२०’ प्रदान गर्ने निर्णय गरेको छ । सम्मानमा पचास हजार नगद, ताम्रपत्र र दोसल्ला रहेको छ भने पुरस्कारमा एक लाख नगद राशि र ताम्रपत्र रहेको छ।

वि.सं. २००३ साल चैत्र १२ गते जनकपुरधाममा जन्मिनुभएका सम्मानित प्रतिभा डा राजेन्द्र विमलले लामो समय प्राध्यापन पेशा अंगालेर भाषा, साहित्य तथा संस्कृतिको क्षेत्रमा सेवा गर्दै आउनु भएको छ । उहाँका कृतिहरुमा समयका आँखा, राजेन्द्र विमलका कथाहरू, इतिहासक धाव र हमरे कथा थिक कथासंग्रह, फिस्टि रानी वालकथा, रोएको जुन र खहरेको तिर्खा रहेका छन । यसका साथै उहाँका इतर ब्रहृमाण्ड नाटक, सुर्यस्तंस पहिले गजल संग्रह, मिथिला गौरव र मिथिलाको इतिहास, सस्कृति र कला–परम्परा, गद्य, पद्य र नाटक समालोचना, नेपाल परिचय नवनीत र नेपाली, अग्रेजी, मैथली शब्दकोश लगायत दुई दर्जन भन्दा बढी कृतिहरू प्रकाशित भइसकेका छन् । बहुप्रतिभाका धनी डा विमलले फिल्म, टेलिश्रृंखला र नाटक अभिनयहरूमा पनि भाग लिएको पाइन्छ । उहाँलाई साहित्य तथा कला संस्कृतिको क्षेत्रमा विशिष्ट योगदान पु¥याएवापत ‘प्रतिभा सम्मान २०२०’ प्रदान गरिने भएको हो ।
यसै गरी वि.सं. २०३४ सालमा तेह्रथुम जिल्लाको ओख्रेमा जन्मिनुभएका कवि विमला तुम्खेवाले वालापन हुदैदेखि निरन्तर कविता लेख्दै आएकी छिन् । उनको विमला तुम्खेवाका कविताहरू, नदि छाल र तरङ्गहरू, संस्मरण एउटा बूढो रुखको र हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे लगायतका कविता कृतिहरू प्रकाशित छन् । उनको कविताहरू हिन्दी, अग्रेजी, कोरियन र लिम्बू भाषामा अनुवाद भएको पाइन्छ । तुम्खेवा कविता लेखनको साथै पत्रकारिता तथा आख्यान लेखनमा समेत सकृय छिन भने बिभिन्न सामाजिक कार्यहरूमा पनि संलग्न रहेकी छिन । कविता लेखनमा उल्लेखनीय योगदान पु¥याएवापत कवि तुम्खेवालाई ‘प्रतिभा पुरस्कार २०२०’ प्रदान गरिने भएको हो।

सन् २००८ मा बेलायतमा स्थापित यस संस्थाबाट हालसम्म स्व. ईश्वर मानन्धर, स्व. अम्बर गुरुङ, जीवी लुगुन, भक्तराज आचार्य, प्रा.डा. गोविन्दराज भट्टराई, बूँद राना, टेकवीर मुखिया, प्रद्युम्न श्रेष्ठ सिक्किम, भागीरथी श्रेष्ठ, वेणु आचार्य, दावा ग्याल्मो दार्जिलिङ र गोपाल पराजुली सम्मानित भइसक्नुभएको छ । यसै गरी ‘प्रतिभा पुरस्कार’बाट यसअघि नवीन विभास, कुवेर राई, उपेन्द्र सुब्बा, श्रवण मुकारुङ, मोमिला जोशी, राजकुमार दिक्पाल, भूपाल राई, बीबी अनुरागी र टीका चाम्लिङ, फुलमान वल, बलराम अधिकारी र शुभ मुकारूङ पुरस्कृत भइसक्नुभएको छ ।
अहिलेको विषम परिस्थितिमा सभासमारोको आयोजना गर्न कठिनाई भएपनि स्थिति समामन्य हुदै गएपछि एक औपचारिक समारोहको आयोजना गरि ‘प्रतिभा सम्मान’ तथा ‘प्रतिभा पुरस्कार’ प्रदान गरिने जानकारी गरिन्छ ।

 

देबेन्द्र खेरेस
महासचिव, नेपाली प्रतिभा प्रतिष्ठान, बेलायत।

Leave a Reply

Your email address will not be published. Required fields are marked *