खास नाम किरण पुन भए पनि साहित्यजगत्मा नवीन विभास नामबाट सुपरिचित उहाँको जन्म वि.सं.२०३६ साल मङ्सिर २९ गते राङ्कोट गाविस वडा नं.–७, जैपा, रोल्पामा आमा दिलसरी र बाबा दलबहादुर पुनको कोखबाट भएको हो ।
विशेष गरी विपन्न र समाजको नेपथ्यमा छेकिएका मानिसहरूका कथालाई कविता, निबन्ध तथा कथाका माध्यमबाट प्रस्तुत गर्न माहिर नवीनका आधाबाटो हिँडेपछि (कथासङ्ग्रह, २०५७), मौसमका हरफहरु (सङ्युक्त कवितासङ्ग्रह, २०५८), उनका गजल (सङ्युक्त गजलसङ्ग्रह, २०५९) र रात पनि ऐठन परेको रातमा (निबन्धसङ्ग्रह, २०६०) प्रकाशित छन् ।
माओवादी जनयुद्धमा आधारित आधा दर्जन संस्मरण र कथाकिताब,रापतीका गीत नामक रापतीका प्रतिनिधि गीतसङ्ग्रहका साथै आँखीझ्याल, पहल र बहिंगालगायतका साहित्यिक पत्रिकाहरूको सम्पादन गर्नुभएको छ ।
रिपब्लिका अङ्ग्रेजी राष्ट्रिय दैनिक पत्रिकामा कार्यरत नवीन विभासले त्रिभुवन विश्वविद्यालयबाट अङ्ग्रेजीमा र पूर्वाञ्चल विश्वविद्यालय आमसञ्चार र पत्रकारितामा स्नातकोत्तर गर्नुभएको छ । विभासलाई नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतबाट सन् २००८ मा नगद तथा ताम्रपत्रसहित प्रतिभा पुरस्कारद्वारा पुरस्कृत गरियो ।
