प्रतिभा सम्मान तथा पुरस्कार प्रदान

काठमाडौँ, २७ माघ २०७४ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले युवा कवि तथा पत्रकार फूलमान वल, वरिष्ठ कवि वेणु आचार्य र तीन संस्थालाई पुरस्कार तथा सम्मान प्रदान गरेको छ । माघ २७ गते शनिबार प्रज्ञा भवन, काठमाडौँमा आयोजित विशेष समारोहमा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति वरिष्ठ कवि एवं मुन्धुमविद् बैरागी काइँलाले उक्त पुरस्कार तथा सम्मान प्रदान गर्नुभएको हो । उहाँले ताम्रपत्र र एक लाख नगद राशि सहितको प्रतिभा पुरस्कार वल र दोसल्ला, ताम्रपत्र र बीस हजार राशि सहितको प्रतिभा सम्मान कवि आचार्यलाई प्रदान गर्नुभएको हो ।

यसै गरी प्रमुख अतिथि काइँलाले सुदूर पश्चिमाञ्चल साहित्य समाज, धनगढी, सङ्गीत साधना प्रतिष्ठान नेपाल, इटहरी र डा. पारसमणि प्रधान शालिक निर्माण समिति जलपाईगुडी, पश्चिम बंगाल, भारतलाई प्रतिभा दशक सम्मान गर्नुभयो । प्रतिभा प्रतिष्ठान दश वर्ष पूरा गरेको अवसरमा यी तीन संस्थालाई दोसल्ला, भादगाउँले टोपी, माला र ताम्रपत्रद्वारा सम्मानित गरिएको थियो । नेपाली भाषा, साहित्य, कला, सङ्गीत तथा संस्कृति विधामा उल्लेखनीय योगदान पु¥याएवापत स्रष्टा तथा संस्थाहरूलाई पुरस्कृत तथा सम्मानित गरिएको प्रतिष्ठानका पूर्व अध्यक्ष तथा समारोहका सभापति दयाकृष्ण राईले बताउनुभयो । मदन पुरस्कार विजेता समेत रहेका साहित्यका समाजका अध्यक्ष रामलाल जोशी, सङ्गीत साधनाका तर्फबाट महासचिव राजु केसी र शालिक निर्माण समितिका तर्फबाट अध्यक्ष प्रकाश क्षेत्रीले सम्मान ग्रहण गर्नुभएको थियो ।

सम्मानित प्रतिभा तथा संस्थाहरुलाई बधाई ज्ञापन गर्दै प्रमुख अतिथि बैरागी काइँलाले उनीहरुको योगदान अतुलनीय रहेको बताउनुभयो । वरिष्ठ कवि वेणु आचार्यको प्रशंसा गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति समेत रहनुभएका काइँलाले देशले चिन्नु पर्ने व्यक्तिलाई बेलायतमा रहेको संस्थाले चिनेकोमा आफूलाई हर्ष लागेको उल्लेख गर्नुभयो । सम्मानित संस्थाहरुले नेपाली भाषा, कला, संस्कृति र सङ्गीत क्षेत्रमा पु¥याएको योगदानको पनि उहाँले मुक्त कण्ठले प्रशंसा गर्नुभयो । नयाँ पुस्ताले साहित्य लेखनमा फरक धार अपनाउँदै भाषालाई मिठासपूर्ण बनाएको उल्लेख गर्दै पुरस्कृत प्रतिभा वलको तारिफ गर्नुभयो ।

कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठान अनुवाद विभाग प्रमुख प्राज्ञ प्रा.डा. उषा ठाकुर र प्रज्ञा प्रतिष्ठानकै मातृभाषा साहित्य विभाग प्रमुख प्र्राज्ञ श्रवण मुकारुङले प्रतिभा प्रतिष्ठानले विश्वलाई भाषा, साहित्य, कला र सङ्गीतमा माध्यमबाट विश्वलाई जोड्ने काम गरिरहेको भन्दै यस्तो सत्कार्यले नेपालीको शिर ठाडो भएको उल्लेख गर्नुभयो ।

सो कार्यक्रममा प्राज्ञ एवं प्रतिभा प्रतिष्ठानका मानार्थ सदस्य शशी लुमुम्बूले अतिथि र सहभागीहरुलाई स्वागत गर्दै संस्थाका उद्देश्य तथा गतिविधिमाथि प्रकाश पार्नुभएको थियो । कवि मोमिला जोशीले सम्मानित तथा पुरस्कृत प्रतिभाको परिचय प्रस्तुत गर्नुभएको थियो । साहित्यकार देवीप्रसाद घिमिरेले सम्मानित संस्थाहरूका बारेमा बोल्नुभएको थियो । कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ धनु याख्खा, सङ्गीतकार बुलु मुकारुङ, अन्तर्राष्टिय नेपाल साहित्य समाजका वरिष्ठ केन्दीय उपाध्यक्ष तथा नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकाली, सिलगुढीका भानुप्रकाश मार्मिक लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम कवि तथा कथाकार विना थिङ तामाङले सञ्चालन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *