१७ औ अभिव्यक्ति शृङ्खला सम्पन्न

बेलायत, २७ जुन २०२६ शनिबार नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्धारा आयोजीत १७औ अभिव्याक्ति शृङ्खला  कार्यक्रममा विभिन्न सामाजिक, सांस्कृतिक तथा साहित्यिक संघ–संस्थाका प्रतिनिधिहरू, बुद्धिजीवी तथा बिशिष्ट सहित्यिक ब्यक्तित्वहरूको बाक्लो उपस्थिति माझ कार्यक्रम सम्पन्न भयो । अल्डरसटस्थित सुसीमोटोको हलमा सम्पन्न अभिव्यक्ति श्रृंखलाको १७ ‌औँ श्रृंखलामा विगत लामो समयदेखि बेलायतमा साहित्य, पत्रकारिता साथै सामाजिक कार्यमा कृयाशील रहेका बरिष्ट गीतकार तथा समाजसेवी दुत बहादुर पुन (चिमखोले काइँला) लाई मञ्च प्रदान गरिएको थियो । बरिष्ट साहित्यकार तथा सस्कृतविद एकेन्द्र गुरूङ प्रमुख अतिथि रहेको कार्यक्रममा नेपाली भादगाउँले टोपी र ताम्रपत्रले स्रस्टा दुत बहादुर पुन लाई १७औ अभिव्याक्ति शृङ्खला  २०२६ सम्मान गरिएको थियो ।

कार्यक्रममा चिम्खोले काइँलाले करिब एक घण्टा सम्म आफ्ना विविध साहित्यिक सिर्जनाहरू प्रस्तुत गर्दै उपस्थित दर्शक श्रोताहरूलाई गहिरो भावानुभूतिमा डुबाएका थिए । उहाँले ‘बुढो लाहुरे’, ‘युकेको जिन्दगी’, ‘थाहा छैन आफैँलाई केले खाने हो’, ‘राष्ट्रियताका लागि डम्फु बजाउने नेताहरू’, ‘मान्कान्त हाम्रो घर’, ‘चाखियो’ र ‘गोर्खेले सकेकै हो’ लगायतका कवितामार्फत युद्ध साहित्य, गोर्खा सैनिकको जीवन, आप्रवासी नेपालीको संघर्ष, राष्ट्रिय चेतना, सामाजिक विसङ्गति तथा मानवीय संवेदनालाई सशक्त ढङ्गले अभिव्यक्त गरेका थिए । कविताका अतिरिक्त उनले तीनवटा गजल, तीनवटा मुक्तक र तीनवटा हाइकु पनि वाचन गरेका थिए । साथै, उनका सिर्जनामा आधारित केही गीतका म्युजिक भिडियो समेत प्रदर्शन गरिएको थियो ।

पूर्व गोर्खा सैनिकसमेत रहेका चिम्खोले काइँलाका सिर्जनाहरूले सैनिक जीवनका अविस्मरणीय अनुभूति, युद्ध र कर्तव्यबीच बितेका कठिन क्षण, गोर्खा सैनिकहरूले दशकौँ देखि भोग्दै आएका विभेद र असमानताका पीडादायी अनुभव, बेलायतमा नयाँ जीवनको खोजी सँगै सामना गर्नु परेका संघर्ष, नेपालको समकालीन सामाजिक–राजनीतिक यथार्थप्रतिको असन्तुष्टि तथा मानवीय प्रेम, सम्बन्ध र जीवनका रोमान्टिक संवेदनाहरूलाई अत्यन्तै प्रभावशाली ढङ्गले उजागर गरेका थिए । उनका कविता, गजल तथा अन्य साहित्यिक रचनाहरूमा व्यक्तिगत अनुभूति मात्र सीमित नभई समग्र समाजको पीडा, आप्रवासी नेपालीहरूको जीवन संघर्ष र न्याय तथा समानताको आकाङ्क्षा पनि सशक्त रूपमा अभिव्यक्त भएको पाइन्थ्यो । यही कारण उनका सिर्जनाले कार्यक्रममा उपस्थित साहित्यप्रेमीहरूलाई भावुक मात्र बनाएनन्, जीवन, समाज र समयका विविध आयामबारे गम्भीर रूपमा सोच्न, आत्ममन्थन गर्न तथा समसामयिक विषयहरूमाथि अर्थपूर्ण विमर्श गर्न समेत प्रेरित गरे ।

कार्यक्रमको प्रारम्भमा नेपाली प्रतिभा प्रतिष्ठान बेलायतका उपाध्यक्ष देवेन्द्र खेरेसले स्वागत मन्तव्य व्यक्त गर्दै साहित्यले समाजलाई जोड्ने, संस्कृतिको संरक्षण गर्ने तथा नयाँ पुस्तामा सिर्जनात्मक चेतना जगाउने महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गरे। विदेशमा रहेर पनि नेपाली भाषा, साहित्य र संस्कृतिको निरन्तरताका लागि प्रतिष्ठानले यस्ता साहित्यिक कार्यक्रमहरू नियमित रूपमा आयोजना गर्दै आएको उनले बताए । कार्यक्रमको सञ्चालन प्रतिष्ठानका उपाध्यक्ष मिजास तेम्बेले सहज, सजीव र आकर्षक शैलीमा गरेका थिए, जसले सम्पूर्ण कार्यक्रमलाई थप व्यवस्थित र रोचक बनाएको थियो।

अन्त्यमा, अध्यक्ष टंक वनेमले कवितामाथि संक्षिप्त टिप्पणी गर्दै उहाँले वर्तमान नेपाली साहित्यको मूलधार जुनसुकै दिशातर्फ उन्मुख भए पनि “चिम्खोले काइँला” का कविता तथा अन्य रचनाहरूले ब्रिगेड अफ गोर्खाज बेलायतको पल्टन घर भित्रको जीवन, भोगाइ, संस्कृति, सङ्घर्ष र समग्र यथार्थलाई अत्यन्त जीवन्त रूपमा अभिव्यक्त गरेको उल्लेख गर्नुभयो । उहाँका अनुसार यस्ता विषयलाई यति निर्भीक, प्रामाणिक र गहिराइका साथ प्रस्तुत गर्न सक्ने डायस्पोराका साहित्यकार विरलै छन् । वरिष्ठहरूको दबाब वा प्रभावबाट विचलित नभई सत्यलाई निडरतापूर्वक कलमबद्ध गर्ने उहाँ ब्रिगेड अफ गोर्खाज बेलायतको ‘पल्टन घरका आँशु कविका रूपमा परिचित रहेको पनि उहाँले बताउनुभयो । साथै, आगामी पुस्ताका साहित्यकारहरूका लागि उहाँका कृतिहरू खाँटी दस्ताबेज र ऐतिहासिक अभिलेखका रूपमा स्थापित हुने विश्वास व्यक्त गर्नुभयो । नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि प्रतिष्ठान निरन्तर सक्रिय रहेको उल्लेख गर्दै प्रवासमा रहेका नेपाली स्रष्टाहरूलाई सिर्जनात्मक अभिव्यक्तिका लागि मञ्च प्रदान गराउँदै आएको पनि उहाँले बताउनु भयो ।

नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले स्थापनाकाल देखी बेलायतमा प्रत्येक वर्ष अभिव्याक्ति शृङ्खलाको आयोजना गरेर एकजना स्रस्टालाई मञ्च प्रदान गरेर स्रस्टाको सृजनाहरू प्रसतुत गर्दै आइरहेको छ । सन् २००७ सालमा गायक तथा संगीतकार चोक गुरूङलाई मञ्च प्रदान गरि अभिव्याक्ति शृङ्खलाको सुरू गरिएको थियो  । सन् २००८ सालमा कवि तथा निबन्धकार दयाकृष्ण राई, सन् २००९ सालमा कवि तथा कथाकार टंक वनेम, सन् २०११ सालमा संगीतज्ञ किसोर गुरूङ, सन् २०१२ सालमा कवि तथा गजलकार अञ्जु अञ्जली, सन् २०१३ सालमा गायक स्व. नोर्देन तेन्जींङ भूटीया, सन् २०१४ सालमा कवि तथा नाट्यकर्मी शशी थापा सुव्बा, सन् २०१५ सालमा कवि तथा कथाकार रक्ष राई, सन् २०१६ सालमा कवि तथा गीतकार निर्मला परिवेश राई, सन् २०१७ सालमा कवि डा. रूपक श्रेष्ठ, सन् २०१८ सालमा साहित्यकार गणेश राई, सन् २०१९ सालमा साहित्यकार जानु काम्बाङ, सन् २०२० सालमा कोभिडको कारण कुनै पनि सार्वजनिक कार्यक्रमहरू हुन सकेन र सन् २०२१ सालमा भर्चुवल जुम मार्फत कवि कोमल मल्ललाई मञ्च प्रदान गरिएको थियो । यसैगरि सन् २०२३ सालमा गायक धन किरण गुरूङ, सन् २०२४ सालमा गायक तथा साहित्यकार स्व. नरेश नाति, सन् २०२५ सालमा कवि तथा समालोचक देबेन्द्र खेरेस र यस वर्ष भने बरिष्ट गीतकार तथा समाजसेवी दुत बहादुर पुन (चिमखोले काइँला)  लाई मन्च प्रदान गरि कार्यक्रम सम्पन्न गरिएको थियो ।

कार्यक्रमको अन्त्यमा बिभिन्न स्रष्टाहरू संग भेटघाट तथा फोटो खिच्दै जलपान तथा खाजा लिदै कार्यक्रम समापन गरिएको थियो ।

चोक गुरुङ

महासचिव

नेपाली प्रतिभा प्रतिष्ठान बेलायत ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *