रक्ष राई

 

रक्ष राई

नामः रक्ष कुमार राई
साहित्यिक नामः रक्ष राई
जन्म मितिः १४ असार, २०२०
जन्म स्थानः बुईपा – २, खोटा¨ नेपाल
विधाः कथा, कविता र दर्शनशास्त्र
प्रकाशीत कृतिहरुः
१) देश दुखेको छ (कविता संग«ह), २०५६
२) शहिदकी आमाको लाश (कथा संग्रह), २०५७
३) वालुवामा अर्को नेपाल (कथा संग«ह), २०६१
४) सालिक अभिएर गोर्खाली (कविता संग्रह), सन् २००९
५) नवचेतनाग्रह, २०६९ (सैद्धान्तिक चिन्तन दर्शन र सिर्जनाहरु – सह लेखन)
६) पोएट इन द किलि¨ जोन, २०१४ (अंग्रजीमा अनुदित कविता संग्रह)
७) डायस्पोरा सिद्धान्त, रचना र समालोचना –२०७२ (सह लेखन)
आत्मीय दुश्मनसंग

सोंचे थें,
हामी फेरि घमासान युद्द लड्ने छौं
किल्ला किल्लामा ठोक्किने छौं
सीमानाहरुमा सिंगौरी खेल्ने छौं
मेरो हातमा फेरि बलभद्रको खुकुरी जाग्ने छ
हामी फेरि नालापानी युद्द लड्ने छौं ।

सोंचे थें,
डाँडामाथिबाट ढुङ्गो लडाएर फेरि तिमी
अक्करको भीर ओरालो लखेटिने छौ
तारेभीरको भीरमाहुरीको खुदो
र अरिङ्गालको गोलो संगसंगै चाख्न पाउने छौ
म ब्यग्र थिएँ, सीमानामा फेरि
तिम्रो टाउको छिनाल्न
म ब्यग्र थिएँ, नालापानीमा फेरि
तिम्रो रगतको खोलो बगाउन
म ब्यग्र थिएँ, तिम्रो रगतको दाग लागेको मेरो खुकुरी फेरि
टिस्टा नदीमा पखाल्न ।

तर तिमी आएनौ युद्दभूमिमा
तर तिमी आयौ, मेरो पार्ल्यामेण्टको ढोकामा
हातमा फूलको गुच्छा बोकेर
कोटको जेबमा वल्कर पेन सिउरेर
अनि ओंठमा सम्झौता पत्रको मुस्कान च्यापेर
त्यसपछि हठात् त्यहीनेर
मेरो स्वधिनताको छाला काढियो
र हजुरको बुटजुत्ता सिलाइयो
हौ, त्यहाँ देखि यहाँसम्म
हजुरको छायाँ सामु झुकेर
“सलाम हजुर !“ भन्दैछु
हजुरको घोडाको जत्थालाई यस्सो बाटो छोडेर
“जदौ, मालिक !“ भन्दैछु
हजुरको कुकुरसंग पनि झ्युक्किएर
“जय होस् प्रभु !“ भन्दैछु ।

म त बुददु भएर बहादुर भएको मान्छे
धेरै कुरा बुझ्दिन,
दुई सय बर्षपछि बल्ल अलिअलि सोंच्दैछु
खुकुरी, खुँडा र तरवार भन्दा
बन्दुक, तोप र गोलाबारुद भन्दा
सैयौं गुना घातक र खुनी हुँदोरहेछ
फूल, कलम र मुस्कानको हतियार
दुई सय बर्षपछि बल्ल अलिअलि बुझ्दैछु
समय संगसंगै
युद्दको परिभाषा र अश्त्रको रुप पनि बदलिदो रहेछ
र दुश्मनको अनुहार मित्र
र मित्रको अनुहार दुश्मन बन्दोरहेछ ।।
बेलायत÷ वेल्सवाट ।
लाहुरी भैंसीको कथा

फनक्कै सिङ्ग घुमेको
लचक्कै ढाड लच्केको
गमक्कै चांक फुकेको
टमक्कै फाँचो कम्लाएको
यति न हो मेरो हुलिया
नाथे, म लाहुरी भैंसी!

मेरो मास फेरिनु कता हो कता !
तिमीलाई राँगोको हतारो हुन्छ
मैले पाडो ब्याउनु कहाँ हो कहाँ !
तिमीलाई बिगौतीको चटारो हुन्छ
मैले तिमीलाई दूध दिन हुन्छ
तर सुद लिन हुँदैन,
तिमी मेरो घिउ खाएर पोषिन्छौ
म आफ्नै नियति चपाएर सिद्दिन्छु
तिमीले मलाई घाँस(कूँडो हाल्न पर्दैन
म अर्काकै नांगीमा डुल्छु
अर्काकै खर्कीमा चर्छु
र तिम्रो गोठमा आएर उग्राउछु ।

मेरा दरसन्तान तिम्रा गाडा तान्छन
मेरो आँसुको ब्याडमा तिम्रो सपनाको सुन फुल्छ
मेरो पसिनाको खेतमा तिम्रो जिन्दगीको धान फल्छ
तिमी मेरो छालाको कोटमा सजिन्छौ
र गजक्किन्छौ, “चाइञ्जो केरे, म रकमसिङ्ग !“
तिमी मेरो छालाको जुतामा ठाँट्टीञ्छौ
र भन्छौ, “चाइञ्जो केरे, म ढाकमसिङ्ग !“
म त नाथे लाहुरी भैंसी !
महेशपालकी छोरी – महेश्वरी !”
कुनै हाट बजारमा लगेर
गोपालकी छोरी “गौरी“ संग साटे पनि हुन्छ
अथवा कतै भेजामा लगेर काटे पनि हुन्छ
म यहाँ नरहँदा तिम्रो के जान्छ ?
वा म जिन्दगीबाट तल खस्दा तिम्रो के झर्छ ?
बरु तिम्रो मांसाहारी भान्साको एउटा स्वादिलो छाक टर्छ
सुकुटी, म म छोयला र कचिला
वा तिम्रो जिब्रोले नयाँ स्वाद फेर्छ ।।
बेलायत ÷ वेल्सवाट ।
साम्राज्ञीको सालिकलाई सम्बोधन

साम्राज्ञी साहिबा !
हजुरको राइफलको नालवाट नदेखिने
मेरो एउटा अदेखा दुश्मन छ
उ हजुरको काँधमा राइफल राखेर
मेरो छातीमा गोली ठोक्छ
म चाहीं उसको दुश्मनसंग
पटक – पटक युद्व लड्छु
महारानी साहिबा !
हजुरको दूरवीनभित्र नभेटिने
मेरो एउटा अदभूत शत्रु छ ।

यही खुकुरीले जापानीको टाउको काटें
अंह, त्यो दुश्मन मरेन
यही राइफल र तोपले जर्मनी ढालें
अंह, त्यो शत्रु ढलेन
महारानी साहिबा !
मेरा पिताको रागतले धमिलिएको इरावती
अझै संगलिएको छैन
मेरा पुर्खाको लास अँगालो मारेर रोएको सितांग नदी
अझै रोकिएको छैन
युद्ववाट लोग्ने फर्किने प्रतीक्षामा शान्तिमाया लिम्बूको तपस्या
अझै सकिएको छैन
कहाँ गए सन्त बहादुर लिम्बु ?
कहाँ हराए मकर ध्वज राई ?
हजुरको भोको सिपाही ऊ
भोक–भोकै बकिंघम दरवारको गार्ड गर्दैछ कि !
भोकसंग लड्न भोक हड़ताल गर्दैछ ?
कि मानव अधिकारको अदालतमा मुद्दा हार्दैछ ?

हजुरको सूर्य नअस्ताउने देशमा
हरेक दिन एउटा घाम झुल्किन्छ
र त्यही घामले मेरो अनुहार छेलिन्छ
र त्यही नयाँ दिनले मसँग पुरानो झेल गर्छ
साहिबा !
धातु पनि आफन्तको न्यानोले पगलिन्छ – कहिलेकही ।
ढुङ्गो पनि दुखीहरुको आँशुले गिलो गिलो हुन्छ – कहिलेकहीं ।
अब तपाई साम्राज्ञी होइन,
सालिक मात्र हो – सालिक !
जसको आँख छ, तर देख्न सक्दैन
जसको कान छ, तर सुन्दैन
जसको मुख छ, तर बोल्दैन
जसको छाती छ, तर मुटु छैन
महारानी साहिबा !
हजुरको साम्राज्यको पर्खालले छेलिएको
मेरो पनि एउटा सानो देश छ,
त्यो देशको एउटा अनागरिक म यहाँ छु
हजूरकै नाखको अघि छु
हजुरकै स्वासले भेट्नेगरी छु
हजुरकै परेलाले छूनेगरी छु ।

ज्याद्रो नै रहेछु म पनि
युद्वको आगोले पनि जलिनं
विश्वासघातको गोलीले ढलिनं
अविश्वासको भारी बोक्दा – बोक्दा पनि गलिनं
महारानी साहिबा !
हजुरको आँखिझ्यालबाट नदेखिने
मेरो एउटा अज्ञात दुश्मन छ
आफ्नै रापले खरानी हुन
अथवा आफ्नो तापले भष्म हुन
उ अघिदेखि जोरी खोज्दै छ
म आगोमाथि उभिरहेको मान्छेसंग
म ज्वालामुखीमाथि अडिरहेको मान्छेसंग ।।
बेलायत, वेल्स ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *