
दयाकृष्ण राई
नामः दयाकृष्ण राई
उदगमस्थलः ठुलो दुम्मा ५ भोजपुर
प्रकाशीत कृति
कविता सङ्ग्रह
१, लाहुरेको कथा जापानको व्यथा
२, ईश्वरको मलामी
नियात्रा
३, सम्झनाको आलिङ्गनमा बा“धिएर
संस्मरणात्मक निबन्ध सङ्ग्रह
४, पागल दार्शनिकका अभिव्यक्तिहरु
कथा सङ्ग्रह
५, गन्तव्यहीन यात्रीको सपना
फलानो गाउ जाने बाटो सोधिरहेका गोर्खालीहरु
थेम्स नदीको तीरै तीर
छाती भरि पीरै पीर
बोकेर हिडिरहेका हामी गोर्खालीहरु
खडेरीले मुहान सुकेर कमिलाको ताँती हिडन लागेको
बागमती नदीको यादमा आँसु बगाई रहेका छौं ।
नेपाल आमा !
बरु यो आँसु र पसिना उतै बगाउन पाएको भए
बागमतीको मुहान फेरी फुटथ्योकी ?
नेपाल आमा !
तिम्रो काखमा बगेको बागमती
र
बेलायती सानीआमाको काखमा बगेको थेम्स
हामीले उस्तै–उस्तै सोच्यौं
जवानीको जोस र जागर सँगै
बेलायती सानीआमाकै रक्षाको लागि बन्दुक बोक्यौं
जोस र जागर बलिष्ठ पाखुराका पौरख
विलीन हुदै गएपछि हामी खेदियौं ।
नेपाल आमा !
तिम्रै काखमा फर्किएर ढेडो रोटो खाएर
संतोषकै सास फेरी रहेकै थियौं
बेलायती सानीआमाले फेरी
सुकिसकेको लाम्टा चुसाउछु भनिन
र
हामी बुर्कुसी मार्दै लाम्टा चुस्न
यहाँ सम्म आयौं
अहिले हामीले सुकेको लाम्टाको त के कुरा
घुँडा चुस्न सम्म पाएका छैनौं
आमा जस्तो कहाँ हुन्थ्यो र सानीमा
भन्नेकुरा बल्ल चाल पायौं ।
नेपाल आमा !
हाम्री सानीआमा त
कति मापाकी बाठी रैछिन वा……!
श्याम÷स्वेत÷पीत, वर्ण
सवैलाई समान अवसर भन्ने
नरामा मात्रै सीमीत रहेछ
रातो रहदानीले त हाम्रो पीतवर्ण
स्वेतवर्णमा अवश्य परिवर्तन हुन सक्दैन ।
तर पनि नेपाल आमा !
जिरो डिग्रीको जाडोमा
आई एल आरको खास्टो ओडेर
आप्mनो भाषा संस्कृति–
परम्पराको दोचा र मोजा लगाएर
आफनै अस्तित्व कुल्चीएर,
बाघ मार्ने महत्वकाङ्क्षाहरु सँगै
मरेको बिरालो काखीमा च्यापेर
दोबाटोमा उभिएर,
फलानो गाउँ जाने बाटो
सोधिरहेका छौ हामी गोर्खालीहरु ।
आमाको गुन्युको थाङना भित्र देखेको सपना
म आमाको गर्भबाट
यस धर्तीमा पदार्पण गर्न बित्तिकै
प्राकृतिक रीत अनुसार रुनु बाध्य भएँ
जन्मनु बित्तिकै को हाँसेको छ हँ ?
रुनु नै त जिन्दगी रहेछ ।
आमा तिमीले बुबु खाउ बुबु भन्दै
मेरो रुन्चे मुखमा स्तन कोचारि दियौं
म बुबु टन्न खाएर ठसमस निदाएँ
मैले आकाश र धर्तीको सपना देखें
सुम्नीमा र पारुहाङ्गको सपना देखें
सपनामा सुम्नीमा र पारुहाङ्ग आएर
मलाई बोलाउछन
बालक यसरि मस्त सुत्नु तिम्रो कर्तब्य होइन
तिमीले रुनु पर्छ÷रुनुनै संघर्ष हो !
म सपनाबाट तर्सिएर ब्युँझन्छु
दुई हातले आकाशलाई चिथोरेर च्यात्न खोज्छु
दुई खुट्टाले लत्ताएर आकाशलाई खसाल्न खोज्छु
आमा तिमीले कोक्रोमा मलाई हल्लाएर
हाई बाबा हाईको गीतले लठ्ठ पारेर फेरि सुतायौ
यसरी म हाई बाबा हाईको गीतले
लठ्ठ परेर कति दिन सुति रहनु हँ ?
फेरि चलमलाउछु, रुन्छु
बामे सर्न खोज्छु,
जव म ताते गर्न खोज्छु
दुई कदम पर गएर मलाई हात दियौं
ताते बाबा ताते भनेर प्रेरणाको बोली बोल्यौ
तिम्रो प्रेरणाले टेकी रहेको दुइहात
धर्तीबाट उठाएर ताते गर्न खोज्छु
पिपलको पात जस्तै हल्लिरहेको धर्तीलाई टेक्न नसकेर
जताततै आँगनमा छरिएका पेरवा र कुखुराको
बिष्टा माथी हात बिसाउछु
आमा तिमीले आची–आची भन्दा–भन्दै पनि
त्यसलाई नै मीठो मानेर चाटछु
अमृत जस्तै लाग्छ मलाई
तर आमा तिमीले मलाई ताते ताते भनि रहयौं
अबिच्छिन्न रुपमा ताते गर्दागर्दै
पिपलको पात जस्तै हल्लिने धर्तीले
अचल र अटल हुन कर लाग्यो
म निर्धक्क आँगनका बिष्टाहरुलाई टेक्दै हिडने भएँ
मैले हिडनका लागि बाटो चिन्नु थियो
तिमीले हात दिएर टुकु–टुकु डो¥यायौ
आँगन देखि गल्ली–गल्ली सम्म चिनायौ
अहिले म तिम्रो प्रेरणाले
जिन्दगीका संकट र पीर ब्याथाहरु
कुल्ची–कुल्ची हिँडिरहेछु
हिडनु मेरो सपना थियो साकार भयो !
कुल्चनु मेरो सपना थियो साकार भयो !!
अहिले म सुनको खाटमा सुतेर
नोटकै सिरक, नोटकै सिरानी लगाएर सुत्ने
मेरो सपना चाहि साकार भएन
आमा मलाई त तिम्रो थोत्रो गुन्युको थाङ्गना भित्र
गुटमुटिएर देखेको सपना मात्रै साकार भए जस्तो लाग्छ ।
म ध्रुब तारा
निल आर्मस्ट्रङ्ग तिमीले चन्द्रमाबाट
पृथ्बीतिर फर्केर हेर्दा
ग्यालिलियोले भनेको गोलो पृथ्बी
च्याप्टो नभएर गोलो नै देखेका थियौ
तिमी पछि जानेहरु सबैले गोलो नै देख्ने गर्छन रे !
अँ अनि तिमीले,
मेरो छाउन नसकेको छिद्र छिद्र परेर
डाँडा भाटा मात्रै बाँकी रहेको टहरोमा भोकै सुतेर
पेटमा मुसा कुदेको देख्यौ कि देखेनौं ?
जति पौरख गरेर पनि पेटभरि खाना नपाउने
तेस्रो मुलुकमा जन्मेको म
मेरो पसिनाको नुनिलो गन्ध सुँघ्यो कि सुँघेनौ ?
पृथ्बीमा मानिसले तेरो र मेरो भन्दै
आ–आप्mनै देशहरु सिमाङ्कन गरेको
कृत्रिम रेखाहरु देख्यौ कि देखेनौं ?
तिनै कृत्रिम रेखाले कोरिएका
भीमकाय देशहरुको बीचमा
ख्याँउटे देश, गरिबी रेखामुनि बन्द भएर
बसेको ध्रुब तारा हँु म
तिमी ले मलाई चिन्यौ कि चिनेनौं ?
