काठमाडौँ — नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले ‘अभिव्यक्ति शृंखला’ को एघारौं संस्करणमा कवि गणेश राई प्रस्तुत गर्यो । लन्डन बस्दै आएका खोटाङका राईले युद्धको प्रभाव र मानवीय संवेदना समेटिएका कविता सुनाए । ‘राइफलले फलाकेको जिन्दगी’ नामक युद्धकविता कृतिसहित छ पुस्तकका सर्जक पूर्व ब्रिटिस गोर्खा सैनिकसमेत हुन् ।
बीबीसी नेपाली सेवा यूकेका पूर्व प्रमुख खगेन्द्र नेपालीले ‘राईका कविता सुनेपछि आफू ‘स्क्रिप्ट हराएको रेडियो प्रस्तोताजस्तो’ भएको बताए । विज्ञप्तिअनुसार कवि राईका कवितामाथि कवि तथा आख्यानकार रक्ष राईले समीक्षा गरेका थिए । प्रतिष्ठानका पूर्व अध्यक्ष दयाकृष्ण राई, उपाध्यक्ष टंक वनेम, कोषाध्यक्ष देवेन्द्र खेरेस र सहसचिव अञ्जु अञ्जलीले संस्थाका गतिविधिबारे प्रकाश पारे ।
प्रतिष्ठानका महासचिव मिजास तेम्बेले विज्ञप्तिमा जनाएअनुसार बेलायतमा रहेका नेपाली स्रष्टाहरूको सम्मान र उनीहरूका सिर्जना प्रवद्र्धन गर्न एक दशकदेखि ‘अभिव्यक्ति शृंखला’ सुरु गरिएको बताए ।
कार्यक्रममा कवि मदन राई ‘लामाखुले’ ले नेपाली साहित्यमा बेलायतमा रहेका नेपाली स्रष्टाको योगदान रहेको दाबी गरे ।
प्रकाशित : आश्विन ११, २०७५ ०९:२३
